
काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले हालसम्म ११ पालिकाको नेतृत्व जितेका छन् । धरान र धनगढी उपमहानगरपालिकासहित स्वतन्त्र उम्मेदवारले ११ पालिकामा दलीय बर्चस्व तोडेका छन् ।
केन्द्रीय राजधानी रहेको काठमाडौं र जनकपुरमा पनि जारी मतगणनामा स्वतन्त्रको बलियो अग्रता देखिन्छ । दुवै पालिकामा स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना अधिक छ ।
यसरी स्वतन्त्र उम्मेदवारको लहर चल्दा दलीय किल्ला मानिएका ठाउँहरु भत्किएका छन् । नतिजालाई हेर्दा, स्वतन्त्रको लहरले सबैभन्दा बढी माओवादी केन्द्रका किल्लाहरु भत्किएका देखिन्छन् ।
डोल्पा, जुम्ला, हुम्ला, कालिकोटसहितका केही जिल्लामा माओवादी किल्लालाई स्वतन्त्रले भत्काइदिएका छन् । कांग्रेसको प्रभाव क्षेत्र मानिएको धनगढीमा यसपटक स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितको झण्डा फहराए । उनले झण्डै दोब्बर मतले कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई हराएका छन् ।
यता, दशकौंदेखि एमालेले राजकाज चलाइरहेको धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजय भए । उनले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता किशोर राईलाई हराएका छन् ।
माओवादी उम्मेदवार हराएका स्वतन्त्र उम्मेदवार
कार्मा छोइवेल गुरुङ, डोल्पा
मोहनबहादुर के.सी., कालीकोट
प्यारीलाल शाही, हुम्ला
सन्तोष प्रकाश जोशी, बैतडी
प्रह्लाद कुमार क्षेत्री, महोत्तरी
कांग्रेस उम्मेदवार हराएका स्वतन्त्र उम्मेदवार
राजु सिंह कठायत, जुम्ला
हर्कराज राई, धरान
दौलथ कुमार कुलुङ राई, भोजपुर
गोपाल हमाल, धनगढी
एमाले उम्मेदवार हराएका स्वतन्त्र उम्मेदवार
कमल बहादुर शाही, कालिकोट
ज्ञानेन्द्र रुम्दाली, ओखलढुंगा