
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ ।
निर्वाचन आयोगको अपडेटअनुसार अब १९ हजार ३२३ मत गणना हुन बाँकी छ । तर, बालेन निकटम् प्रतिस्पर्धीभन्दा २० हजार ३७६ मतले अगाडि छन् ।
एक लाख ९१ हजार ५१ मतमध्ये हालसम्म एक लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । एक लाख ७१ हजार ८०२ मतको गणना हुँदा बालेनले अहिलेसम्म ५५ हजार ७४७ मत पाएका छन् ।
पाँच दलीय गठबन्धनको तर्फ प्रतिस्पर्धी कांग्रेस नेतृ सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन् । यता, एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् ।
निर्वाचन आयोगले जनाएअनुसार काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याएकी छिन् । डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत ल्याएका छन् ।