काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरले अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र केबुलकार प्रा.लि.बिच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
सो कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ्ग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले हाल देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ्ग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार १७:०७ मा प्रकाशित



























