बिदुर, नुवाकोट । बाग्मती प्रदेश अन्र्तगत रसुवा, नुवाकोट र धादिंगका तीसवटै पालीकामा बुद्धिजीवीहरुको अभियान बढाईने भएको छ ।
नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बाग्मती प्रदेश अन्तर्गत रसुवा, नुवाकोट र धादिंगका बुद्धिजीवीहरुको बिस्तारीत बैठकलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्दै सो संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारीले बौद्धिक हस्तक्षेपका लागि संगठन अभियान जरुरी भएको बताएका छन ।
नेपालको राष्ट्रियता बलियो पार्न, स्वाधिनता र सार्वभौमिकता अक्षुण राख्न तथा आमुल परिवर्तनकारी जनसमुदायको चाहनालाई सम्बोधन गर्न माओवादी शक्ति बलियो पार्नुको बिकल्प नरहेकाले माओवादीहरुको बृहद एकताको बातावरण तयार पार्न, समाजवादका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका बहुआयामिक आधार तयार गर्न स्थानीय तहसम्मै संगठन निर्माण जरुरी रहेकोमा जोड दिएका छन ।
उनले बुद्धिजीवी संगठनलाई केवल संगठनको औपचारीकतामा सिमित नराखि आन्दोलन, पार्टी र राष्ट्रलाइ नै रचनात्मक योगदान दिंदै संगठनको सार्थकता पुष्टि गर्ने प्रतिबद्धता ब्यक्त गरे । बुद्धिजीवी संगठनको आन्तरिक प्रणाली तथा संगठनको निर्माण र परिचालनमा समेत उनले संक्षिप्त प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथी रहेका सो संगठनका कार्यालय सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतमले राजनैतिक, बैचारीक र अनुशासनका बिषयमा प्रशिक्षणात्मक मन्तब्य दिएका थिए भने अर्का बिशिष्ट अतिथि नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्य तथा नुवाकोट संयोजक पुष्प लामिछाने ‘अरुण’ ले राजनैतिक बैचारिक कामसाथै पार्टी सुदृढ पार्न पनि बुद्धिजीवीहरुको भूमिका बढाउनुपर्ने बताएका थिए । संगठनका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश स्कुल बिभागका सचिव जयराम आचार्यले समसामयिक अन्तर्राष्ट्रिय परीस्थितीको चर्चा गर्दै घरेलु नीतिका बारेमा बौद्धिक भुमिका थप्नुपर्नेमा जोड दिए ।
बैठकमा उपस्थित अर्का केन्द्रीय सदस्य डा गणेश धमलाले संगठन निर्माणका साथै बौद्धिक स्तरीयता सम्बन्धमा धारणा राखेका थिए । कार्यक्रममा नवनिर्वाचित जिसस तथा पार्टी बाग्मती प्रदेश सदस्य रामचन्द्र पौडेल, किस्पांग गाउपालिका उपाध्यक्ष तथा पार्टी प्रदेश सदस्य अर्जुन न्यौपाने लगायतले स्थानीय सरकार संचालनमा बुद्धिजीवीहरुको भुमिका जरुरी भएको बताएका थिए ।

नुवाकोटको बिदुरमा आयोजित सो बैठकको अध्यक्षता गरेका संगठनका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष कृष्ण कोपीलाले प्राप्त प्रतिवेदनहरुको तथ्य उतार र बिश्लेषण गरिने प्रतिबद्धता सहित संगठनको कार्ययोजना बताएका थिए ।
नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य सुवास तामांङ लगायतका नेताहरुको उपस्थिति तथा संगठनका बाग्मति प्रदेश सचिव भरत गौतमद्धारा संचालीत सो कार्यक्रममा प्रदेश उपाध्यक्ष बसुराम रीजालले उपस्थित अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।
बैठकमा धादिंगका संयोजक राम कुमार श्रेष्ठ, रसुवाका संयोजक प्रकाश नेपाल, हरी देवकोटा, सुवास बिक, मीन कुमार केसी, हरी बहादुर थापा, ज्ञानु धरेल बुर्लाकोटी, बिष्णु बोहोरा, होमनाथ कोईराला, ओमनाथ तिमिल्सीना लगायतले पालिकाहरुको चुनावी रिर्पोट र संगठनको भूमिका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संगठनका बाग्मती प्रदेश सचिव भरत गौतमका अनुसार बाग्मतीका १३ जिल्ला र ११९ पालिका मध्ये ११ जिल्लाका ४ क्लष्टर अन्तर्गत १०२ पालिकाको सांगठनिक स्थिती र स्थानिय तह निर्वाचनको समिक्षा प्रतिवेदन प्राप्त भै सकेको छ ।
बैठकमा पार्टी र संगठनबिचको समन्वय चुस्त हुनुपर्ने, सामाजिक मुद्धाहरुमा अध्ययन अन्वेषण हुनुपर्ने तथा निर्वाचनमा भएको ‘भोट फिक्सिंग’लाई गंभिरताका साथ लिनुपर्ने, उम्मेदवार तय गर्दा मापदण्ड निश्चित हुनुपर्ने, निर्वाचन प्रणाली सुधारका लागि अनिवार्य कदम चाल्नुपर्ने, बैचारीक राजनैतिक काममा जोड दिनुपर्ने लगायतका बिषय महत्वका साथ उठेका थिए ।
सो बैठकले नुवाकोटका संयोजक बसुराम रीजाल प्रदेश उपाध्यक्षमा निर्वाचित भएकोले उनलाई बधाई दिंदै सो स्थानमा मिन कुमार केसीलाई चयन गरेको छ साथै तीसवटै पालिकामा संगठन अभियान तिव्र पारीने निर्णय भएको छ । गौतमका अनुसार बिभिन्न पेशागत क्षेत्रमा रहेका बिचारले उत्कृष्ट प्रतिभाहरुलाई सो संगठनमा आबद्ध गरिदै आएको छ ।
वि.सं.२०७९ जेठ २९ आइतवार ११:२९ मा प्रकाशित





























