भारत । हाम्रा कृषकहरु रोपाई गर्ने बेला भयो मल पाइएन भनेर रोइकराई रहेको बेला भारतले भने गाईको गोबर मल कुबेतलाई बिक्रि गर्न सुरु गरेको समाचार आएको छ ।
अर्गानिक फार्मर प्रोड्युसर एसोसिएसन अफ इन्डियाका राष्ट्रिय अध्यक्ष डा अतुल गुप्ताले कुवेतबाट १९२ मेट्रिक टन गाईको गोबरको अर्डर प्राप्त गरेको एक भारतीय संचारमाध्यमलाई बताएको समाचारमा उल्लेख छ । वैज्ञानिकहरुले गाईको गोबर मल प्रयोग गरेर खजुरको बाली राम्रो हुने अध्ययनबाट पत्ता लगाएपछि कुवेतले भारतबाट गाईको मलको माग गरेको हो ।
डा गुप्ताका अनुसार कुबेतको कम्पनी लैमोरले गाईको गोबरको माग गरेको हो । ‘भन्सार विभागको रेखदेखमा टोंक रोडस्थित श्रीपिंजरापोल गौशालास्थित सनराइज अर्गानिक पार्कमा प्राकृतिक कन्टेरमा रहेको गाईको गोबरको प्याकेजिङ गरिएको छ । पहिलो खेप १५ जुनमा कनकपुरा रेलवे स्टेसनबाट छुट्नेछ। त्यहाँबाट खेप गुजरातको मुन्द्रा बन्दरगाह पुग्नेछ र त्यसपछि कुवेत पठाइनेछ’ गुप्ताले भने ।
पशुजन्य उत्पादनको निर्यात भारतीय कृषि क्षेत्रको महत्वपूर्ण योगदानकर्ता हो। पशुजन्य उत्पादनको निर्यातमा मासु, कुखुराको छाला, दूध तथा दुग्धजन्य पदार्थ र मह पर्छन् । २०२०–०२१ मा, भारतमा पशु उत्पादनहरूको निर्यात 27,155.56 करोड रुपैयाँ थियो। पछिल्लो समय जैविक मलको माग ह्वात्तै बढेकाले गाईको गोबर पनि निकासी हुन थालेको छ ।
डा गुप्ताले भारतमा गाईवस्तुको संख्या करिब ३० करोड रहेको बताए । भारतमादैनिक करिब ३० लाख टन गाईको गोबर उत्पादन हुन्छ, जसको ३० प्रतिशत गुईठा बनाइन्छ र जलाइन्छ ।
बेलायतमा गाईको गोबरबाट वर्षेनी ६० लाख युनिट बिजुली उत्पादन हुन्छ भने चीनमा १५ करोड घरधुरीलाई आपूर्ति गरिन्छ । गाईको गोबर ग्यास घरायसी उर्जाका लागि प्रयोग गरिन्छ,’ उनले भने, ‘गाईको गोबर मलको रुपमा निकै उपयोगी छ, यो वृद्धि उत्प्रेरक हो । विदेशीहरुले गाईको गोबरको महत्व राम्ररी बुझेका छन् ।यसको परिणाम धेरै देशहरुले प्रयोग गर्न थालेका छन् । गाईको गोबरबाट प्राङ्गारिक मल प्रचुर मात्रामा पाइन्छ । गाईको गोबर पर्याप्त मात्रामा उपलब्ध नहुँदा भारतबाट गाईको गोबरबाट बनेको प्राङ्गारिक मल (वर्मी कम्पोष्ट) आयात गर्न थालेका छन् । विशेषगरी अमेरिका, नेपाल, केन्या, फिलिपिन्स लगायतका मुलुकले भारतबाट वर्षेनी लाखौं टन अर्गानिक मल अर्डर गर्न थालेको छ,’ उनले भने ।
वि.सं.२०७९ जेठ २९ आइतवार १९:२५ मा प्रकाशित





























