प्रज्वल पुकार,पाख्रीबास नपा – ४, धनकुटा
अन्जानमा वसेको प्रगाढ लत
जागो रह्यो त्यो सदा सदा
जुन दिन देखि उनको नजरमा नजर डुवाउँदा
मुस्कानको फेवातालमा डुवेर
टपक्कै टिपे गुलावी मुस्कान र
मेरा दुुईवटा ओठमा टाँसे देखि
झुण्डिरहेको छ तुर्लुङ्ग अझै सम्म
उनको चञ्चले मुस्कान
म अवोध बालक थिए प्रेमको रङ्गमञ्चमा
बालकले डराउदै पुतलीको पखेटा छोए जस्तो
पहिला उनले मलाई प्रेमको स्पर्श गर्न सिकाईन्
उनी थाक्रो बनी मौन बसिन्
म लहरा बनी बेरिदै गए
परमानन्द आलिङ्गनको चरम बिन्दुमा पुगेपछि
अनयासै जुनी जुनीको कसम खान सिकाईन् ।
ठूलो सुन्दर निर्मल झाडी बीचको
लामो सुकिलो फुटपाथ जस्तो सिउदो थापेर
एक मुठी सिन्दुरको रेखी लगाएपछि
मलाई त्यही बाटोमा हिड्न लगाएकी हुन्
एक ढाकर रहरको दिवास्वप्न बोकेर
पूजा आरधाना यज्ञस्थलमा
अनुहारको लाली लुकाउँदा
लुकाकै ठाउँमा नपुगी नहुने मेरा नजरलाई
पहिलो पटक
उनैले हो
चोरी चोरी हेर्न सिकाएको ।
उनीले नै सिकाएकी हुन् प्रेम गर्न
उनले नै सृष्टि गर्न
आउ आउ आउ मेरी प्रियसी
अब मात्र बाँकी अन्तिम एउटा सल्लाह गरौ
अहिले नै हामी दुई जना आट्ने
एउटा चिहान खन्न मिल्ला कि नमिल्ला ?
फलामलाई कहिल्यै नछोएको चुम्बक जस्तो
छेउमा पुर्याउदा लुगलुगाउने भनौ या
चुरी भुरी आयो भन्नू अगावै
काउकुती लाग्ने
अन्जान प्रकृति जस्तो
यी ओठहरुलाई
उनैले हो ओठ ओठमा जोड्न सिकाएको
शब्दकोषमा समेत नामाङ्कन नभएको
ओठ ओठ बीचको रसस्वादनमा
उनैले हो मलाई उपासक बनाएको ।
चराहरु सुनसान मौन रहदा
ताराहरु मस्त निन्द्रामा हुदा
हावाको साउती समेत सुस्ताउदा
उद्यानको मोहक हरियो चौरी जस्तो
उनी मग्न आनन्दित भएपछि
उनैले सिकाएकी हुन् मलाई घोप्टिन
सृष्टिको ब्याड माथि ।
सुम्पिएकी हुन् मलाई
उनको बाँकी नरहेको सबैथोक
खोलिदिएकी हुन् पहिलो पटक
रातो चोलीका कठिला खिपहरु
स्पर्श गराएकी हुन् वक्षस्थल
चाहिनन् मेरो नहुने एउटा रौं पनि नहोस्
पहिलो पटक उनैले उघार्दिएकी हुन्
कहिल्यै नखुलेको लाजको पर्दा पनि
मलाई रुझाएकी हुन् उनैले
बिचेत जवानीका वर्षा बर्षाएर ।
उनीले नै सिकाएकी हुन् प्रेम गर्न
उनले नै सृष्टि गर्न
आउ आउ आउ मेरी प्रियसी
अब मात्र बाँकी अन्तिम एउटा सल्लाह गरौ
अहिले नै हामी दुई जना आट्ने
एउटा चिहान खन्न मिल्ला कि नमिल्ला ?
वि.सं.२०७९ असार ४ शनिवार ०८:१३ मा प्रकाशित






























