काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८ औं वार्षिकोत्सवको पुर्वसन्ध्यापारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले उद्घाटन गरी एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।
दुई बैंक गाभिएपछि ‘नबिल बैंक लिमिटेड’को नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको छ । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपालबंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको बताए ।
अझबलियो, सँगै अघि भन्ने नारासहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्तिपछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशलतथा सक्षमबनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । “बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,”उनले भने ।
देश विकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिका हुने बताउदै उनले बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्यसहित नबिल दिगो बैंकींगको सुरुवात गरेको बताए । साथै बैंकले पर्यावरण र दिगो विकासको मापदण्डलाई पछ्याउदै सोही अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए ।
बैंकका अनुसार “क”वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपालबंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपालबंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।
बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नविलबैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन)को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न यो कदम चालेको बताए । उनले निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने, देशव्यापी शाखाहरुको सञ्जालविस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने, पूँजीगतआधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीतीलिने बताए ।
बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कुलनिक्षेप ३ खर्ब २८ अर्ब तथा कुलकर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
वि.सं.२०७९ असार २९ बुधवार १२:१३ मा प्रकाशित





























