काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनामाथि छानबिन सुरु भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार घटनामा मुछिएका डीएसपी ठगबहादुर केसीमाथि छानबिन सुरु गरिएको हो ।
उनका अनुसार रुपन्देहीका एसपी रवीन्द्र रेग्मीको नेतृत्वमा उक्त विषयमाथि छानबिन सुरू गरिएकाे हाे । उक्त घटनामा दोषी देखिए डीएसपी केसीमाथि कारबाही हुने प्रवक्ता राईले जनाए ।
आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए। सोही क्रममा वडाअध्यक्ष क्षेत्रीलाई डीएसपी केसीले पौडी पोखरीमा फालेका थिए। जुन भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ ।
पोखरी फालेको विषयमा सोमबार नेकपा (एमाले)ले राष्ट्रिय सभामा विरोध गरेको थियो । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले उक्त विषयमाथि छानबिन गरि कारबाही गर्न माग गरेका थिए ।
“भाइ मेयर भएको ठाउँमा प्रहरीले ज्यादति गरेको छ। त्यसबारे डिटेल रिपोर्ट पेस गर्नुपर्छ। त्यो डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पानीमा चोबल्ने कारबाहीमा पर्छ कि पर्दैन ?”, उनले प्रश्न गरेका थिए ।
तिलोत्तमा नगरपालिकामा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण नगर प्रमुख छन् । एमालेले गृहमन्त्री खाणसँग उक्त घटनाबारे जवाफ पनि माग गरेको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १५:३४ मा प्रकाशित






























