back
CTIZAN AD

प्रचण्डलाई भारत बोलाएर दिल्लीले दिन खोजेको सन्देश के हो ?

वि.सं.२०७९ साउन २ सोमवार

801 

shares

काठमाडाैं । भारतको सत्तारूढ दलको निम्तोमा नयाँ दिल्ली पुगे तापनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भ्रमण त्यहाँको सत्तासँग संवादमा केन्द्रित रहेको देखिएको पूर्वकूटनीतिज्ञ एवं जानकारहरूले टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास गर्ने चर्चा भए पनि ‘त्यस्तो भेट नभएको’ प्रचण्डको सचिवालयले जनाएको छ।

आइतवार तीनदिने भ्रमण टुङ्ग्याएका प्रचण्डले आफूलाई निम्त्याउने भारतीय जनता पार्टी (भाजपा)पङ्क्तिबाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन्।

भाजपाका अध्यक्ष जेपी नड्डाले ‘आफ्नो दललाई परिचित गराउने’ कार्यक्रम अन्तर्गत प्रचण्डलाई दिल्ली निम्त्याइएको भेटपछिको आफ्नो ट्वीटमा लेखेका छन्।

प्रचण्डसँग भ्रमणमा साथ रहेका उनका स्वकीय सचिव रमेश मल्लले आफ्ना अध्यक्षको भ्रमण ‘देउवाको भारत भ्रमण, त्यसपछि भएको मोदीको नेपाल भ्रमणसँग जोडिएकोले अर्थपूर्ण रहेको’ बीबीसीलाई बताएका छन्।

“पार्टी-पार्टीबीचको सम्बन्ध थप सुदृढ पार्ने उद्देश्यले भ्रमण भए पनि उच्च सरकारी अधिकारीबीच समेत निकै राम्रो संवाद हुन सक्यो,” मल्लले दिल्लीबाट भने।

“गठबन्धनबारे भारत सकारात्मक भएको पाइयो।”

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ गठबन्धनको एक मुख्य दलको अध्यक्ष भइकन पनि ‘राष्ट्रको औपचारिक प्रतिनिधित्व गर्नु पर्ने भार नहुनुले’ एकअर्कालाई बुझ्ने-बुझाउने अवसर यस्ता भ्रमणमा धेरै हुने कूटनीतिक क्षेत्रका जानकारहरूको मत पाइन्छ।

तर प्रचण्डले त्यो अनौपचारिक अवसर लिन नचाहेको देखिएको एकथरी पूर्वकूटनीतिज्ञहरू टिप्पणी गर्छन्।

भारतका लागि पूर्वनेपाली राजदूत नीलाम्बर आचार्यले प्रचण्डले ‘सत्तामा आफूलाई भाजपाजत्तिकै ठानेर भ्रमणमा गएको’ टिप्पणी गर्छन्।

उनी भन्छन्, “प्रचण्डजी आफैले सत्तारूढ दलहरूबीचको सम्बन्ध सुधार गर्दै देशहरूबीचको सम्बन्ध सुधार्ने उद्देश्य भनेपछि वहाँसँग दलको नेता मात्र भएर बोल्ने अनुकूलता हुँदैन।”

छायामा ‘भारतको नेपाल नीति’

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रचण्डप्रति दिल्लीको अस्थिर दृष्टिकोण रहने गरेको बताउँदै यस पटक ‘बढी नै रुचाएको देखिएको’ टिप्पणी गर्छन्।

“हामीले यस्तो प्रणाली बनाएका छौँ जहाँ कांग्रेस मात्रैले पनि एक्लै केही गर्न सक्ने अवस्था छैन,” कांग्रेस नेता समेत रहेका उपाध्याय भन्छन्।

“गठबन्धन संस्कृति नेपालमा अपरिहार्य देखिएका बेला भाजपाले समेत सोही अनुरूप सबै मुख्य पार्टीसँग सम्बन्ध राम्रो बनाउन चाहेको देखिन्छ। तर हामीले कस्तो सम्बन्ध चाहेका हौँ त्यो प्रस्ट पार्न सफल भइरहेका छैनौँ।”

तर भाजपाको केही समययता नेपालका हकमा देखिँदै आएको संस्थागत सम्बन्ध विस्तार भन्दा पनि ‘व्यक्ति केन्द्रित शैली’ले प्रचण्डको यस भ्रमणमा निरन्तरता पाएको पूर्वराजदूत उपाध्याय टिप्पणी गर्छन्।

प्रचण्डले दिल्लीमा के भने ?

प्रचण्डले शनिवार नयाँ दिल्लीमा बोल्दै द्विपक्षीय मामिलामा ‘इतिहासले छाडेका केही मुद्दा असल मनसायले सुल्झाउनुपर्ने’ बताएका थिए।

भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध एक संस्थाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दा ‘१९५० को सन्धि, सीमाका मुद्दा र इपीजी प्रतिवेदन’का विषय ‘असल छिमेकीको भावले’ सुल्झाउनुपर्ने भनाइ उनले राखेका थिए।

उनले नेपालले थप हवाई प्रवेश विन्दुको आशा गरिरहेको र ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउन चाहेको बताएका थिए। मैत्रीपूर्ण छिमेकीका रूपमा दुवै देशले “एकअर्काको चासो र संवेदनशीलता”लाई ख्याल गर्ने गरेको कुरा प्रचण्डले आफ्नो सम्बोधनमा समेटेका थिए।

“नेपालले आफ्नो भूमि छिमेकीहरूको स्वार्थविरुद्ध प्रयोग हुन दिएको छैन र भारतसँग पनि त्यस्तै अपेक्षा गर्छ,” शनिवार प्रचण्डले आफ्नो सम्बोधनमा भनेका थिए।

गठबन्धनका साझेदारका रूपमा प्रचण्डले, देउवा र मोदी एक-अर्काको देशमा गरेका पछिल्ला भ्रमणले आपसी सम्बन्धमा ‘एउटा गति’ सिर्जना गरेको बताए।

भ्रमणका संकेतहरू

भारत मामिलाका जानकार पत्रकार युवराज घिमिरेले ‘पार्टीको आवरणमा’ भारत सरकारसँगको योजनाबद्ध तयारीमा भ्रमण तय भएको देखिने बताउँछन्।

घिमिरेका दृष्टिकोणमा यसअघि प्रधानमन्त्रीका रूपमा भारत जाँदा सत्तारूढ दलका नेताहरूलाई मात्र भेट्ने ‘शेरबहादुर देउवाले सुरु गरेको एउटा साँघुरो कूटनीति र शिष्टाचारको अन्त्य गर्ने परम्परा’लाई प्रचण्डले निरन्तरता दिएका छन्।

“त्यसमाथि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताको भ्रमण लगत्तै प्रचण्डलाई भारत बोलाएर हामीले बोलाएका बखत नेताहरू [दिल्ली] आउँछन् भन्ने मनोवैज्ञानिक सन्देश चीनलाई समेत दिन खोजिएको छ,” पत्रकार घिमिरे ठान्छन्।

“मुख्य कुरा त नेपालमा कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा ल्याएर बलियो पार्ने चीनको चाहना पूरा नहोस् र क्षणिक रूपमै भए पनि आउँदो चुनावसम्म कांग्रेस-माओवादी चुनावसम्म गठबन्धनमा रहून् भन्ने दिल्लीको चाहना रहेकोजस्तो देखिन्छ।” बीबीसीबाट

वि.सं.२०७९ साउन २ सोमवार १५:५४ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...