काठमाडाैँ । एनएमबि बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनसँग सम्झौता गरेको छ । काठमाडौंमा बिहिबार भएको एक कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारीपत्र आदान प्रदान गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको बताउदै यसले साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज हूने बताए ।
उनले वाणिज्य बैंकहरुले विदेशबाट ५५० अर्ब रुपैयाँ ल्याउन सक्ने बताए । उनले नेपालका बैंकहरुले पनि पैसा तिर्न सक्छन् भनि एनएमबी बैंकले उदाहरण पेश गरेको बताए । उनले एनएमबी बैंकले विदेशबाट ल्याएको ऋणलाई नेपाली बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक क्षण भएको बताए । उनले एनएमबीले ४ वर्ष देखि लगातार ३ वटा सम्झौता गरेर ६५ मिलियन डलर अर्थात् ८ अर्ब रुपैयाँ भन्दा बढी रकम भित्र्याउन सफल भएको बताए ।
उनले बाँकी रहेका २६ वटा बैंकलाई पनि बाटो खुल्ला गरिदिएको बताए । नेपाल राष्ट्र बैंकले शतप्रतिशत कोर क्यापिटलको अनुमति दिएमा २६ वटा वाणिज्य बैंकले ५५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याउन सक्ने बताएका हुन्।
नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउने ऋणको सीमा हटाएमा सो बराबरको रकम नेपालमा भित्रिने उनको भनाइ छ । उनले भने, ‘केन्द्रिय बैंकले कोर क्यापिटलको शतप्रतिशत अनुमति दिने हो भने २६ वटा बैंकले ५५० अर्ब रुपैयाँ विदेशी मुद्रा ल्याउन सक्ने क्षमता राख्छन्, अहिले बैंकहरुले जम्मा ३८ अर्ब रुपैयाँ बराबरको रकम मात्रै ल्याउन सकेका छन् ।’

उनले नेपालको सबै २६ वटा बैंक मिलेर आउने हो भने ५५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा ल्याउने क्यापसिटी रहेको बताए ।
कोरोनाका कारण नेपालका साना थता मझौला व्यवसायमा परेको समस्या समाधान गर्नका लागि एनएमबी र आईएफसीबीच सम्झौता गरिएको बताइएको छ । बैंकले साना तथा मझौला व्यवसायीलाई उस्को अवस्था हेरेर ५ करोडसम्मको लोन दिने जनाएको छ । बैंकले शिक्षा, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा लोन दिन मिल्ने उल्लेख गरेको छ ।
बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार ११:१६ मा प्रकाशित






























