
काठमाडौं । काठमाडौं महानगरले असन र ईन्द्रचोक क्षेत्र वरपरमा मन्दिर तथा सम्पदामा भइरहेका अवैध व्यापारलाई हटाउने भएको छ । आइतबार महानगरको वडा नं. २५ ले एक सूचना जारी गर्दै २४ घण्टाभित्रै उक्त क्षेत्रमा भइरहेकाे अवैध व्यापारलाई खाली गराउन भनेको हो ।
वडाले यसअघि पनि पटक–पटक हटाउन माइकिङ्ग अनुरोध गर्दै आएको थियो । वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले निरन्तरको आग्रहलाई नमानेपछि सूचना निकालको बताए ।
उनले पछिल्लो आग्रहलाई नेटेरे प्रहरी लगाएर खाली गराइने बताएका छन् । उनले मन्दिर तथा सम्पदामा व्यापार गर्न नदिइने स्पष्ट पारे ।
अहिले विशेषगरी ईन्द्रचोक, भेडासिंग, असन क्षेत्रमा रहेका मन्दिर तथा सम्पदाहरुमाथि व्यक्तिहरुले कब्जा गरी व्यापार गर्दै आएका छन् । कतिपयले व्यक्तिगत रुपमा व्यापार गरेका छन् भने कतिपयले गुठीको नाममा व्यापार गर्दै आएका छन् ।
एकातिर त्यस्ता व्यापारी महानगरमा दर्ता छैनन् भने अर्कोतिर करको दायरामा पनि छैनन् । मनलाग्दी अवैधरुपमा उनीहरुको व्यापार मन्दिर तथा सम्पदा नै चिन्न नसकिने बनेको छ ।
आकाव भैरव, सन्तानेश्वर महादेव, वंशेश्वर महादेव, शिव मन्दिरलगायतका मन्दिर व्यापार चिन्न नसकिने अवस्थामा छ । यता, असन चोकका महत्वपूर्णं ऐतिहासिक सम्पदाहरुको बोर्ड नै छोपेर व्यापारी मनपरी व्यापार गरेका छन् ।