
काठमाडौं । नाफामा गएका दुई ठूला सरकारी संस्थाहरु नेपाल दुरसञ्चार कम्पनी र राष्ट्रिय वाणिज्य बैंक मिलेर २०७६ जेठमा नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडिपीसी)को स्थापना भएको थियो । दुई ठूला र व्यवसायीक हिसाबले सफल देखिएका कम्पनीहरुले नेपाल डिजिटल पेमेन्टमार्फत डिजिटल भूक्तानी सेवा प्रदायक एप ‘नमस्ते पे’बजारमा ल्याएका थिए ।
आफैंमा करोड बढी ग्राहक भएको नेपाल टेलिकम र ३६ लाखभन्दा बढी ग्राहक भएको राष्ट्रिय वाणिज्य बैंकले नयाँ कम्पनी ल्याउँदा उक्त कम्पनीले बजारमा ठूलो प्रभाव पार्नसक्ने अपेक्षा गरिएको थियो । तर, दुई ठूला संस्थाहरुको ओतमा बनेको नेपाल डिजिटल पेमेन्ट कम्पनी छोटो समयमै असफल देखिएको छ ।
०७७ चैतमा राष्ट्र बैंकबाट स्वीकृत पाइ ०७८ भदौदेखि सञ्चालन ल्याइएपनि नमस्ते पे प्रभावकारी देखिएन । अहिले नमस्ते पे सञ्चालनमा रहेका २७ वटा भूक्तानी सेवा प्रदायकहरुको बीचमा नगन्य अवस्थामै छ ।
चुक्तापुँजीका आधारमा नेपाल डिजिटल पेमेन्ट कम्पनी सबैभन्दा ठूलो कम्पनी हो । ४० करोड रूपैयाँ चुक्ता पूँजी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीमा नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत शेयर छ ।
सिइओ नै आयोग्य भएपछि
नेपाल डिजिटल पेमेन्ट कम्पनी स्थापना गर्दा लगानीको अनुपातमा दुई ठूला संस्थाहरुले नेतृत्वदेखि कर्मचारीहरुको खटन पटन गरेका थिए । दुई ठूला संस्थाहरुकै समझदारीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद भण्डारी नियुक्त भएका थिए ।
भण्डारी तत्कालिन समय नेपाल टेलिकम कम्पनीका सहप्रवक्ताको जिम्मेवारीमा थिए । कम्पनी गठन भएपश्चात उनलाई टेलिकम सञ्चालक समितिको बैठकले २०७७ साउन २० मा एनडिपीसीको सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो । थुप्रै वरिष्ठ हुँदा हुँदै पनि भण्डारीलाई नै नियुक्त गरिनु सञ्चालक समितिको अर्को अनौठो निर्णय थियो ।
प्राविधिक रूपमा सक्षम भएपनि भण्डारी नेतृत्वको रूपमा भने सफल होइनन् । जुन एनडिपीसीको नेतृत्वमा आएसँगै देखिएको छ । भण्डारीको नेतृत्वमा एनडिपीसी अगाडि नै बढ्न नसक्ने अवस्थामा पुगेको छ । भण्डारीमा नेतृत्वदायी क्षमता नहुँदा नै पछिल्लो अवस्था आएको निष्कर्ष पनि एनडिपीसीको सञ्चालक समितिको छ ।
लगानी डुब्ने भएपछि नेतृत्वलाई हटाउने तयारी
आशा गरिएअनुसार व्यवसायीकरूपमा अगाडि बढ्न नसकेपछि एनडिपीसीको सञ्चालन समिति कम्पनीको नेतृत्व नै परिवर्तन गर्ने तयारीमा पुगेको छ । सञ्चालन समितिका एक सदस्यले बताएअनुसार नेतृत्व परिवर्तनको काम सुरुवात भइसकेको छ । असफल देखिएको भण्डारी नेतृत्वको टिमलाई आगामी पुसभित्रै बिदाई गर्ने तयारी सञ्चालक समितिको छ ।
“यो नेतृत्वले अपेक्षित काम गर्न सकेन, बजारमा आक्रामक जाने विषयमा पनि यो नेतृत्वबाट सम्भव देखिएन”, सञ्चालक समितिका एक सदस्यले संसार न्यूजसँग भनेका छन्, “हामी छिट्टै सम्पूर्णं टिम नै परिवर्तन गर्ने तयारीमा छौं । पुसभित्रै यो टिमलाई बिदाई गर्छौं ।”
उनले बताइएअनुसार नयाँ डेपुटी सिइओको नियुक्ती प्रक्रिया अघि बढीसकेको छ । दशैं लगत्तै नयाँ सिइओको नियुक्ती प्रक्रिया पनि अगाडि बढ्ने उनले बताए ।
नेपाल टेलिकमका धेरै कर्मचारीको बाहुल्य हुनु र व्यवस्थापनभन्दा प्राविधिक खालका कर्मचारीहरु जम्मा हुनुले पनि समस्या देखिएको निष्कर्ष सञ्चालक समितिको छ । मुख्यगरी नेतृत्वमा रहेका सिइओ भण्डारीप्रति सञ्चालक समिति निकै असन्तुष्ट छ ।
याे पनि…
सूचना दिँदैन सरकारी लगानीको एनडिपीसीले