back
CTIZAN AD

एउटा यस्तो पालिका जहाँका जनता बैंकको सुविधाबाट बन्चित छन्

वि.सं.२०७९ असोज १२ बुधवार

723 

shares

भूमिराज पिठातोली, बझाङ । मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मितिसम्म दुई सय ९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगे ।

विसं २०७४ मा जारी राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “सङ्घीय संरचनाअनुसार तय भएका सात सय ५३ स्थानीय तहमध्ये २०७४ असार मसान्तसम्म वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य रूपले शाखा खोल्नुपर्नेछ । विकास बैंकले वाणिज्य बैंक र विकास बैंक दुवै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्नेछन् ।” राष्ट्र बैंकले निर्देशन दिएको पाँच वर्ष भइसकेको छ । तर, बझाङको साइपाल गाउँपालिकामा भने अहिलेसम्म बैंक पुगेको छैन ।

लामो समय बैंकबिहीन भएका धादिङको रूवीभ्याली, जाजरकोटको जुनिचाँदे गाउँपालिकाले गएको असारमा बैंक पाएका छन् भने साइपाल मात्रै बैंकविहीन पालिका भएको छ । आर्थिक वर्ष २०७६÷७७ सम्म बैंक नभएका स्थानीय तहको सूचीमा ६ पालिका थिए । ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा बैंकका शाखा सञ्चालन भएपछि तीन पालिका मात्रै बैंकविहीन थिए । त्यसमा पनि दुई पालिकामा असारमै बैंक पुगेपछि साइपाल मात्रै एक्लिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म सात सय ५२ स्थानीय तह वाणिज्य बैंकको पहुँचमा पुगेका छन् । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले रासससँग भन्नुभयो, “सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंक पुगेका छन् । साइपालमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाइ भएको हो ।” प्रवक्ता भट्टका अनुसार साइपालमा बैंक पुग्न अझै समय लाग्ने देखिन्छ । “पक्की भवनहरू तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको जानकारी राष्ट्र बैंकले पाएको छ ।” उनले भने ।

अहिले नेपालमा २६ वाणिज्य बैंकका शाखा सञ्जाल करिब पाँच हजार छन् । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमै छन् । १८ विकास बैंकका मुलुकभर एक हजार बढी शाखा सञ्चालनमा छन् भने १७ वित्त कम्पनीको दुई सय ७० भन्दा बढी शाखा सञ्जाल छन् । समग्रमा मुलुकभर बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल ११ हजारको हाराहारीमा छ । तर, दुर्गमको साइपाल भने वर्षौं बित्दा पनि बैंकविहीनकै अवस्थामा छ ।

बैंकिङ पहुँचमा नहुँदा धेरै सास्ती खेप्नुपरेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । “साइपालमा बैंक तथा वित्तीय संस्था नहुँदा सबै कारोबार जिल्ला सदरमुकाम चैनपुरबाटै गर्नुपर्छ,” उनले भने। “गाउँमा सडक सञ्जाल जोडिएको छैन । सडक नहुँदा बैंकले पनि आउन मानेको छैन ।” बोहराका अनुसार अहिलेको यो वर्षायाममा जिल्ला सदरमुकाम पुग्नै चार दिन समय लाग्छ । “खोला तर्नै पनि कठिन हुन्छ”, अध्यक्ष बोहराले भने “बैंक भएको भए यति सास्ती भोग्नुपर्ने थिएन ।” साइपालमा शाखा सञ्चालन गर्न राष्ट्र बैंकले एभरेष्टलाई निर्देशन दिएको छ ।

अध्यक्ष बोहराले भने, “हामीले पटक–पटक आग्रह गर्दा विभिन्न कारण देखाउँदै बैंक टाढिन खोजिरहेको छ”, उनका अनुसार अन्य बैंकले शाखा सञ्चालनका लागि चासो देखाउँदा एभरेष्टले भने घुमाइफिराई साइपालमा जान नसक्ने कारण तेस्र्याइरहन्छ । “धेरै बैंकसँग कुरा भयो”, उनले भने “एनआइसी एसिया र ग्लोबल बैंकले शाखा सञ्चालनका लागि सकारात्मक प्रतिक्रिया दिँदा एभरेष्टले भने नसकिने नै अडान लियो ।” उनले ठूलो रकम बोकेर साइपाल पुग्न आफूलाई पनि असुरक्षित महसुस हुने गरेको बताए ।

साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा लामा तामाङले पनि मोटो रकम बोकेर हिँडिरहन सुरक्षाको दृष्टिले अप्ठेरो भएको बताइन् । उनले भनिन्, “बैंकलाई सुरक्षाको चिन्ता नमानी शाखा सञ्चालन गर्न धेरै पटक आग्रह गर्दा पनि चासो दिँदैन ।” पालिकामा बैंक सञ्चालनका लागि दुई महिनाअघि राष्ट्र बैंकलाई निवेदन दिएको उनले बताइन् । “पालिकामा बैंक नभएको पीडा राष्ट्र बैंकलाई सुनाएका छौँ”, उनले भनिन् “राज्यले हामीलाई १७ वटा चिठी पठाइसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलगायतका लागि पनि अनिवार्य खाता खोल्नु भनेको छ । तर, हामीले जिल्ला सदरमुकामबाट पैसा झिकेर घर–घरै वितरण गर्न जानुपर्छ ।”

एभरेष्ट बैंकले भने असुविधा भएको ठाउँमा बैंक जान नसक्ने बताएको छ । एभरेष्ट बैंकका बझाङ शाखा प्रबन्धक कविरलाल मास्केले भने, “साइपालमा बैंक लिन सक्ने अवस्था नै छैन । नेटवर्क, सञ्चार, सुरक्षा तथा बाटो नभएको ठाउँमा बैंक कसरी लिने ?” उनले प्रश्न गरे । उनले चैनपुरमा बसेर साइपालमा बैंक सञ्चालन गर्ने भन्ने कुरा सजिलो नभएको प्रतिक्रिया दिए । ‘हामीले साइपालका जनप्रतिनिधिसँग पनि छलफल गरेका छौँ । सुविधा नभएको ठाउँमा बैंक जान नसक्ने बताएका छौँ ।” उनले भने ।
साइपालका जनप्रतिनिधि भने मास्केको कुरा स्वीकार्ने पक्षमा छैनन् । “एभरेष्टले शाखा सञ्चालनका लागि विभिन्न बहाना गरिरहेको छ,” अध्यक्ष बोहराले भने ।

अध्यक्ष बोहोरा भने सुरक्षा र नेटवर्कको कुनै चिन्ता नगर्नुस् भन्दा पनि बैंकले वास्ता नगरेको बताउछन् । “म अहिले साइपालको काँडामै छु,” अध्यक्ष बोहोराले टेलिफोनमा भने, “मोबाइलमा फोरजी टिपेको छ । सुरक्षाका लागि पनि प्रहरी चौकी छ । थप चाहिए सुरक्षाकर्मी पनि थप्न सक्छौँ । तर, अरू बैंकले चासो देखाउँदा पनि राष्ट्र बैंकले खटाएको एभरेष्टले किन चाँसो देखाउँदैन । अचम्ममा छौँ ।”

यस विषयमा राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले भने अरू बैंकले साइपाल जान सक्ने चाँसो राख्दा एभरेष्टले जान नमान्ने कारण बुझ्ने बताए ।

गाउँपालिका अध्यक्ष बोहराले एभरेष्ट बैंकका कर्मचारी अहिलेसम्म साइपाल अवलोकन गर्नसमेत नपुगेको गुनासो गरे । “साइपालमा असुरक्षा छ, नेटवर्क हुँदैन मात्रै भनिरहनुभएको छ । तर, यहाँ अहिलेसम्म कुनै कर्मचारी पनि पुग्नुभएको छैन । एक पटक साइपाल नपुगेरै बैंकका कर्मचारीको टोली धलौनबाटै फर्किएको थियो ।” यसपटक भने बैंकका कर्मचारीले काँडासम्मै पुग्ने आश्वासन दिएको उनले बताए । “यो पटक भने पालिकासम्मै अवलोकनका लागि जाने भन्नुभएको छ । खै के गर्नुहुन्छ ।” उनले भने ।

वि.सं.२०७९ असोज १२ बुधवार १७:४७ मा प्रकाशित

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...