काठमाडौं । आगामी मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट चुनाव प्रचार–प्रसार गरेमा त्यसको पनि खर्च विवरण बुझाउनुपर्ने भएको छ ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले विभिन्न सामाजिक संजालमार्फत् आफ्नो चुनावी प्रचारको अभियान थालनी गरेको पाइएकोले सोको समेत खर्च विवरण उल्लेख गर्न आग्रह गरेको हो । आयोगले उक्त प्रचारलाई विज्ञापनको स्वरुप मान्दै निर्वाचन खर्चमा समावेश गर्नुपर्ने जनाएको हो ।
‘प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, को लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक संजालको प्रयोग समेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धीत दल र उम्मेदवारहरुलाई स्मरण गराउन चाहान्छ ।’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ असोज २५ मंगलवार ०९:११ मा प्रकाशित






























