back
CTIZAN AD

लमजुङमा दुई गुरुङबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

वि.सं.२०७९ असोज २५ मंगलवार

1.1K 

shares

लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङकाे चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै राेजे । ०७४ काे निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले-माओवादी गठबन्धनकाे साझा उमेदवारकाे रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलाे मनाङ भएर पनि उनले कर्मथलाेकाे रूपमा लमजुङलाई राेजेका छन् ।

यसपालि पृथ्वीसुब्बा गुरूङकाे चाहना प्रतिनिधिसभाकाे उम्मेदवार बन्ने पटक्कै थिएन । ०७४ काे प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री बन्ने साैभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनकाे सपना थियाे । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।

लमजुङमा आयाेजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेकाे थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाकाे निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”

साेचेजस्ताे सधैं कहाँ हुन्छ र ? पृथ्वीसुब्बाकाे हकमा पनि त्यस्तै भयाे । फिटिक्कै चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाकाे उम्मेदवार बनायाे पार्टीले । पछिल्लाे समय गुरूङभन्दा पनि ओलीकाे नजिक बनेका खगराज अधिकारीले गण्डकीकाे मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाकाे टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाकाे उमेदवार बन्न पुगेका छन् ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीकाे काेपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन् । लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियाे, तर प्रतिनिधिसभाकाे निर्वाचन उनका लागि फलामकाे च्युरा चपाउनुसरह मानिएकाे छ ।

प्रदेश सभा ख उनकाे आफ्नै क्षेत्र हाे, क्व्हाेंलासाेंथार उनकाे गृह गाउँपालिका हाे, जहाँ उनकाे पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेकाे छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन् । बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाकाे निर्वाचन लड्न सहज थियाे । उनकाे चाहना पनि त्यही थियाे, तर घलेले प्रदेश सभा क काे टिकट पाएका छन् ।

देव गुरुङलाई पनि कांग्रेसकाे भर हाे । कांग्रेसका मतदाताले उनलाई कतिकाे साथ दिन्छन्, त्याे हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लाे समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएकाे स्थानीय निर्वाचनले पनि यही संकेत गरेकाे छ । यसकाे फाइदा उनलाई हुने सम्भावना छ ।

देव गुरुङ याेसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारकाे रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ काे चुनावमा वाम गठबन्धनकाे साझा उम्मेदवारकाे रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङकाे याे सातौं निर्वाचन हाे । २०४३ सालमा राष्ट्रिय पञ्चायतकाे चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । २०४८, २०५१, २०५६ काे निर्वाचनमा पराजय भाेगेका उनले ०६४ काे पहिलाे संविधानसभाकाे निर्वाचनमा चुनाव जिते । ०६३ काे जनआन्दाेलनपछि बनेकाे सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयाे । त्यसपछि दाेस्राे संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ काे प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनकाे तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशकाे पहिलाे मुख्यमन्त्री बन्ने साैभाग्य पाए ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ । प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेकाे छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेकाे छ । स्थानीय निर्वाचनकाे नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

वि.सं.२०७९ असोज २५ मंगलवार १२:०३ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...