Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कस्तो होला चुनाव पछिको राजनीति ?



आउँदो मंसिर ४ को निर्वाचनले पनि कुनै राजनीतिक निकास दिन सक्ने अवस्था बनेन । एकातिर जनता कमजोर र निमुखा छन् भने अर्कोतिर पार्टीहरुको जकडिएको व्यवस्था कायमै छ । न व्यवस्था परिवर्तन हुन सक्छ; न प्रणाली परिवर्तन हुन सक्छ । पात्रहरु केही परिवर्तन होलान् त्यसले तात्तिक अन्तर ल्याउदैन ।

पार्टीमा नयाँ नेतृत्व र नयाँ विचार आउन सक्ने देखिँदैन । नेपाली कांग्रेसमा राम्रो संकेत देखिएता पनि अझै त्यो भरपर्दो छैन । नेतृत्व पश्चगामी भएसम्म पार्टीहरुमा नवीन सोंच र विचार आउन पाउने छैन । वर्तमानमा सबैभन्दा पश्चगामी नेतृत्व नेकपा (एमाले)को हो, नेकपा (माओवादी केन्द्र)को हो । भलै मुलुक माओवादीको एजेन्डामा हिँडेको होस् । उसका एजेन्डा अरुले बोकेर सत्ता चलाईरहेका छन् । माओवादीले कहिल्यै आफ्ना एजेन्डाको नेतृत्व गर्न सकेन । कारण नेतृत्वकै असफलताले हो । नेतृत्व कहिल्यै सुधारिन खोजेन । निकट भविष्यमा पनि त्यो सुधारिने देखिँदैन !

नेतृत्वका हिसाबले सबैभन्दा उदार राप्रपा भएता पनि विचार पुरातन भएकाले मुलधारमा आउन सक्ने सम्भावना छैन । उसलाई राष्ट्रिय पार्टी हुन नै कठिन देखिन्छ । शेरबहादुर देउवालाई ध्यान नदिने होे भने आशा लाग्दो भविष्य नेपाली कांग्रेसकै हो । आउँदो चुनाव पछि गगन थापा वा विश्व प्रकाशहरुले संसदीय दलमा हस्तक्षेप गरेर अगाडी बढ्न सके भने त्यो लोकतन्त्र र शासन व्यवस्थाका लागि शुभ हुनेछ । तर, यो सम्भावना कमजोर देखिन्छ । त्यसैले आउने पाँच वर्ष फेरि पनि खेर जाने सम्भावना छ ।

यो चुनावमा स्वतन्त्र भनेर च्याउ झैँ छरपस्ट उम्रेका व्यक्ति तथा नयाँ पार्टीहरुले त्यति धेरै हस्तक्षेप गर्न सक्ने अवस्था देखिँदैन । यद्यपि पार्टीहरुलाई सुधार गर्न र लोकतन्त्रलाई बलियो बनाउन उनीहरुलाई मत दिनु उपयुुक्त हुन्छ । थाहा छ; एकाध शहरी क्षेत्र बाहेक उनीहरुले जित निकाल्न सक्ने ठाउँ छैन, तैपनि पुराना पार्टीलाई धक्का दिन; सुधारका लागि घचघच्याउन स्वतन्त्रहरुको मतले सहयोग मिल्ने छ । नेपाली जनमा अझै विचारको खुलापन आउन सकेको छैन । ठिक र बेठिक छुट्याउने क्षमता अझै विकास भएको छैन । लोभ लालच र आश्वासन दिनेले नै चुनाव जित्ने अवस्था कायमै छ । समग्रमा जनता र कार्यकर्ता सुधारिएकै छैनन् । यसको प्रत्यक्ष फाइदा फेरि पनि पुराना पार्टीलाई नै हुने देखिन्छ ।

समानुपातिक प्रणालीले एमालेको इज्जत धानी दिएता पनि प्रत्यक्ष प्रणालीमा उसलाई सर्वनास हुनबाट कसैले जोगाउन सक्दैन । त्यसैले जित्ने भनेकै कांग्रेस, माओवादी र समाजवादीकै हुने सम्भावना छ । तराईमा तराईका दलको सामान्य उपस्थिति हुने देखिन्छ । नेकपा (एमाले)लाई दोस्रो दलमा कायम हुन धेरै संघर्ष गर्नुपर्ने छ । यदि कायम भयो भने पनि दोस्रो र तेस्रो दलबिचको अन्तर ठूलो हुने छैन । एमालेलाई यो हालतमा पु¥याउने पात्रले त्यस पछि केही सिक्लान् कि ? आशा गरौं !

दलहरु जे–जसरी चुनावमा गएका छन् यसलाई हेर्दा, आगामी चुनाव पछि पनि मुलुकको राजनीतिले सही कोर्ष समात्न सक्दैन । मंसिरको चुनाव पछि कुनै पार्टीको बहुमत आउने अवस्था देखिन्न । जसकारण आगामी पाँच वर्ष पनि यसअघि जस्तै सांसद खरिद–बिक्री हुने, पार्टी विभाजन भइरहने तथा अस्थिर सरकार हुने निश्चित जस्तै छ । गठबन्धन भने पनि सत्ताका लोभीहरु यताउता हुने निश्चित छ । यो गठबन्धनभन्दा पनि स्वार्थबन्धन हो ।

गठबन्धनबाट तुलनात्मक लाभ नेपाली कांग्रेसलाई हुने देखिँदा विगतको सबभन्दा ठूलो पार्टी दण्डित हुन्छ नै । जनताले स्थिरताका लागि दुई तिहाईको बहुमत दिएका थिए, त्यो कसका कारण गुमेको हो ? पक्कै खोजी गर्ने छन् । यसो भनिरहदा पनि सत्ताको बागडोर आउने पाँच वर्ष तिनै पुराना पार्टीकै वरिपरि घुम्नेमा शंका छैन । आगामी पाँच वर्ष पनि सत्तामा उनीहरुकै हालिमुहाली हुनेछ । चुनाव पछि आयाराम गयाराम अझ बढ्ने छ ! विकास, सुशासन र समृद्धिको कल्पना; केवल कल्पना हुने छ ! घोषणा पत्रमा लेखिएका कुरा केवल कागजी घोषणा पत्र हुने छन् !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।