back
CTIZAN AD

सत्ता समिकरणमा बामपन्थी मिल्ने सम्भावना कति ?

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

975 

shares

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणामले वामपन्थी शक्ति थप कमजोर बन्दै गएको देखाउँछ । मुख्य वामपन्थी शक्तिका रुपमा देखिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७४ को तुलनामा निकै कमजोर रुपमा देखिएका छन् । २०७४ को निर्वाचनमा प्रत्यक्षबाट ८० सिट जितेको एमाले यसपटक झण्डै आधा ४४ सिटमा खुम्चिएको छ । माओवादी केन्द्रको अवस्था पनि त्यस्तै छ । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फबाट ३६ सिट जितेको माओवादी अहिले १८ सिटमा सिमित भएको छ ।

२०७४ को निर्वाचनबाट दुई पार्टीको सिट संख्या मात्रै झण्डै दुई तिहाई हाराहारी थियो । तर, यसपटक दुई पार्टीको अवस्था बहुमत नजिक पनि छैन । दुई पार्टीको सिट जोड्दा ११० मात्रै पुग्छ । जुन बहुमतभन्दा २८ सिट कम हो ।

आफुँलाई वामपन्थी शक्ति बताउने एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेमकिपा यसपटक संसदमा छन् । तर, उनीहरुले पाएको मत निकै थोरै छ । एकीकृत समाजवादीले प्रत्यक्षबाट १० सिट पाएको छ भने रा.ज.मो. र नेमकिपाले एक/एक सिट पाएका छन् । एमाले र माओवादीले पाएको सिट संख्यामा तीन पार्टीको सिट संख्या थप्ता पनि बहुमत पुग्दैन । पाँच पार्टीको सिट जम्मा १२२ पुग्छ । जुन बहुमत पुर्‍याउन थप १६ सिट अपुग हो ।

बामपन्थीबीच छैन सहकार्यको सम्भावना

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटनसँगै संसदीय राजनीतिमा रमाएका वामपन्थी शक्तिहरुबीच पनि ठूलो दरार पैदा भएको छ । नेकपा विघटनसँगै देखिने गरी तीन वटा पार्टी (एमाले, माओवादी र एकीकृत समाजवादी) बनेका मात्रै छैनन्, उनीहरुभित्र पनि ठूलो दरारको अवस्था छ । प्रत्येक पार्टीभित्र वामपन्थीबीच सहकार्य गर्ने वा अन्य शक्तिसँग सहकार्य गर्ने भन्नेमा विवाद छ ।

एमाले वामपन्थी शक्तिहरुबीच भन्दा चुनावबाट ठूलो दल बनेको कांग्रेससँग सहकार्यको कोशिसमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कांग्रेससँगै सहकार्यको प्रयासमा छन् । निर्वाचनमा पनि एमालेले वामपन्थी इतरका शक्तिहरुसँग तालमेल गरेर गएको थियो भने माओवादी र एकीकृत समाजवादी पनि कांग्रेससँग तालमेलमा थिए ।

निर्वाचन परिणाम पछि पनि दलहरुको कसरत वामपन्थी शक्ति एकजुट गराउने कोणबाट छैन । निर्वाचनको परिणाम पछिका अंकगणित मिलाउने खेलमा पनि वामपन्थी शक्तिहरु छलफलसम्म भएको छैन । जसले प्रष्ट पार्छ, वामपन्थीहरुबीच सहकार्यको सम्भावना छैन ।

एमाले उपाध्यक्ष भन्छन् – एमाले एक्लो वामपन्थी शक्ति हो

एमालेका उपाध्यक्ष विष्णु पौडेल नेपालमा एमाले मात्रै एक्लो वामपन्थी शक्ति भएको बताउँछन् । उनका अनुसार माओवादी केन्द्रलगायतका अन्य दल वापमन्थी होइनन् ।

वामपन्थी शक्ति नै नभएको कारण सहकार्यको सम्भावना पनि नभएको उनको जिकिर छ । वामपन्थीबीच सहकार्यको सम्भावनाबारे गरिएको प्रश्नमा पौडेलको प्रतिप्रश्न छ, “सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?”

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १६:०८ मा प्रकाशित