back
CTIZAN AD

विदेशी लगानीका यी बीमा कम्पनी, बिमितका लागि कति सुरक्षित ?

वि.सं.२०७९ पुस ४ सोमवार

1.4K 

shares

काठमाडौं । नेपालमा हालसम्म सञ्चालनमा रहेका ३९ बीमा कम्पनीहरुमध्ये सात वटा कम्पनीमा विदेशीको लगानी रहेको पाइएको छ । तिनीहरुमध्ये तीन वटा कम्पनीहरु भने विदेशी कम्पनीको शाखाको रूपमा सन्चालनमा छन् । त्यसमा दुई वटा भारतीय निर्जीवन बीमा कम्पनीहरु दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स हुन् भने अर्को अमेरिकन जीवन बीमा कम्पनी मेटलाईफ (स्थापना हुँदा यसको नाम एलिको थियो) हो ।

ललितपुरको नारायणी कम्प्लेक्समा मुख्य शाखा कार्यालय राखेर अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाईफले कारोबार गरिरहेको छ भने डिल्लीबजार चारखालमा र त्रीपुरेश्वरको आँखा अस्पताल रहेको भवनमा आफ्नो कार्यालय राखेर क्रमशः दि ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीले कारोबार गरिरहेका छन् ।

बाँकी चार कम्पनी भने संयुक्त लगानीमा सन्चालनमा छन् । तिनीहरुमध्ये युनाइटेड इन्स्योरेन्स तथा सगरमाथा इन्स्योरेन्स कम्पनी संयुक्त लगानीमा संचालित निर्जीवन बीमा कम्पनी हुन् भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संयुक्त लगानीमा संचालित जीवन बीमा कम्पनीहरु हुन् ।

तिनीहरुमध्ये युनाइटेड इन्स्योरेन्स कम्पनीमा दुई वटा जर्मनीयम कम्पनी कपुर जिएमबिएच तथा मोरगन रिड एन्ड सरमन लिमिटेडको लगानी रहेको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्समा श्रीलंकन कम्पनी सेलिङको इन्स्यारेन्स पिएलसीको २० प्रतिशत लगानी रहेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड पनि संयुक्त लगानीमा सन्चालनमा रहेको बीमा कम्पनी हो । जसमा भारतीय लाइफ इन्स्यारेन्स कर्पोशनको ५५ प्रतिशत तथा नेपाली लगानीकर्ताहरुको ४५ प्रतिशत लगानीमा रहेको छ ।

नियामक निकायभन्दा पहिलेदेखि सन्चालनमा

भारतीय बीमा कम्पनीहरुले अबैधरूपमा नेपालका सिमावर्ती बजारहरुमा बीमा गर्ने कार्य गर्न थालेपछि नेपाल बैंक लिमिटेडले पनि आफ्नो पूर्ण समित्वमा वि.सं. २००४ सालमा माल चलानी तथा बीमा कम्पनीको स्थापना गरेको इतिहास छ । २०१६ सालमा नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीमा परिवर्तन भएको यो कम्पनी विं सं. २०४८ सालमा फेरि नाम परिवर्तन भएर नेपाल इन्स्योरेन्स कम्पनीको नामबाट सन्चालनमा छ ।

यता बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको स्थापना भने २०२५ सालमा भएको थियो । तर, त्यसभन्दा पहिला नै भारतीय निर्जीवन बीमा कम्पनीहरु नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीहरुले शाखाको रूपमा नेपालमा व्यवसाय सन्चालन गरेका थिए ।

भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले वि.सं.२०१२ सालदेखि नेपालमा शाखा खोली व्यवसाय सुरु गरेको थियो भने अर्को भारतीय कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीले वि.संं. २०१५ सालबाट शाखाको रूपमा सेवा सुरु गरेको थियो । त्यस्तै, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी मेटलाईफ (त्यसताका एलिको)ले वि.सं. २०५८ साल मंसिर २० गतेदेखि नेपालमा आफ्नो शाखा खोली व्यवसाय सुरु गरेको थियो ।

बीमा क्षेत्रको कालापानी

तत्कालिन राजा महेन्द्रले नै विशेषाधिकार प्रयोग गरी ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीलाई व्यवसाय सन्चालन गर्न दिएको बीमाविद्हरुको भनाइ छ । अमेरिकन लाईफ इन्स्योरेनस कम्पनी मेट लाईफलाई भने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषदले २०५८ मंसिर २० गते विशेष व्यवस्था गरेर नै सन्चालन गर्न दिएको पाइएको छ ।

बीमा विद्हरुका अनुसार जसरी नेपालको कालापानीमा भारतले सेना राखिरहेको छ, नेपालमा शाखाको रूपमा सञ्चालनमा रहेका विदेशी बिमा कम्पनीहरु पनि त्यस्तै हुन् । उनीहरुलाई बस्न दिइसकेपछि हटाउन पनि सकिँदैन र उनीहरुले न्यूनतम जगेडा कोष पनि पुर्‍याउँदैनन् ।

नेपालमा शाखा देशैभर उप–शाखा

उपत्यका बाहिर २७ तथा काठमाडौंसहित ३६ एजेन्सी तथा पाँच वटा उपशाखामार्फत अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी मेटलाईफ सन्चालनमा छ । त्यस्तै, १० वटा उपशाखा मार्फत ओरियन्टल इन्स्योरेन्स कम्पनी नेपालमा सन्चालनमा छ भने १२ शाखा र उप–शाखा सहित नेशनल इन्स्योरेन्स कम्पनी सन्चालनमा छ ।

जोखिममा बीमित

नेपालका कुनै पनि लगानीकर्ताको लगानी नभई सोझै भारतीय तथा अमेरिकन कम्पनीको शाखाको रूपमा सन्चालनमा रहेका बीमा कम्पनीहरुका कारण बीमितहरु भने जोखिममा रहेको देखिएकोे छ । पहिलो त बिमितहरुले आफूले पाउने भुक्तानी नै समयमा नपाउने गरेको समस्याहरु छन् ।

अर्कोतिर, ती निर्जीवन बीमा कम्पनीले गर्ने आबधिक बीमाबाट जोखिममा परेका पीडितहरुले समयमा नै भुक्तानी नपाउने गरेको गुनासो बारम्बार आएको पाइएको छ । त्यस्तै, जीवन बीमा कम्पनीले पनि बिमीतहरुलाई समयमा भुक्तानी नहुने गरेको स्वयम् बीमा समितिका अधिकारीहरु नै स्वीकार्छन् ।

अर्कोतर्फ, कुनै समयमा ठूलो जोखिम बहन गर्नुपर्ने भएमा ती बीमा कम्पनीहरुमा पर्याप्त जगेडा कोषसमेत नभएको पाइएको छ । नेपालमा संचालनमा रहेका अन्य जीवन बिमा कम्पनीहरु जो यहीँका नागरिकको लगानीमा तथा संयुक्त लगानीमा संचालनमा छन् तिनीहरुको चुक्ता पूँजी यसअघि दुई अर्ब हुनैपर्ने व्यवस्था थियो भने निर्जीवन कम्पनीरुको चुक्ता पूँजी एक अर्ब हुनैपर्ने त्यस बखतमा पनि भारतीय निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम जगेडा कोष एक अर्ब नपुर्‍याएको बीमा समितिका अधिकारीहरुले बताएका छन् । उनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्रकाशित गरेको अप्रशोधित आर्थिक प्रतिवेदनमा पनि जगेडा कोशमा बीमा समितिले तोकेको भन्दा निकै न्यूनमात्र रकम भएको पाइएको छ ।

भर्खरै स्थापना भएको बीमा प्राधिकरणले आगामी चैत्रसम्ममा जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी पाँच अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी दुई अर्ब पचास करोड पुर्‍याउन निर्देशन दिएको छ भने विदेशी बीमा कम्पनीको शाखाको रूपमा सन्चालनमा रहेका बिमा कम्पनीहरुलाई सोही बराबरको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको छ ।

वि.सं.२०७९ पुस ४ सोमवार १५:१८ मा प्रकाशित