
उपप्राध्यापक पिमला (बिमला)न्यौपानेले अन्तर्मनका भाकाहरु प्रस्फुटन गराएकी छन् । आरोह अवरोहका यात्राहरुमा सुसेलीएका भावनाहरुलाई बाँध्दै उनले नेपाली साहित्यमा शालिन र सभ्य उपस्थिती देखाएकी छन् । पर्वतको पैयुमा जन्मिएर बुटवल हुँदै काठमाडाैंलाई कर्मथलो बनाएकी पिमलाले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डोटी क्याम्पसमा अंग्रेजीको स्थायी लेक्चरर हुदै भक्तपुर र बेलायतसम्म देखे भोगेका तरंगहरु यसमा समेटेकी छन् ।
दशकौं छाल र दर्जनौ घुम्तिपार गर्दाका उनका सजिव दृश्यहरु यसमा उतारीएका छन् । मानव सभ्यताको पहिचान, विकास र संवर्धनमा रुची राख्ने गरेकी कवि पिमलाले आफना भाकाहरुमा सभ्यताको सुरिलो लय पस्केकी छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको यो कृतिले साहित्यीक दखलता सहित उनको विशिष्ट क्षमता उजागर गरेको छ ।
बेलायतमा प्राध्यापनरत प्रा. डा.प्रियंवदा पौडयालका अनुसार उनको यो गहन र सरल संग्रहका कवितामा मानव र प्रकृतिबिचको अन्तरंग सम्बन्धदेखी सामाजिक विभेद सम्प्रेषण गरीएको छ । यसैगरी डा. लेख प्रसाद निरौलाकाअनुसार नवोदित कवि पिमलाका तीस वटै कविताहरु पुथक पृथक विषय,परिघटना र संवेदनाका परिपूरकसहित अनुभुतिलाई जीवन्तता प्रदान गरेका छन् । प्रा. डा. कृष्णहरि बरालकाअनुसार उनका कवितामा मानिसलाई मानिस भएर बाँच्न अनुरोध गरीएको छ भने गरीखाने मान्छेहरुलाई महान र सत्ता तथा शक्तिको आडमा उभिनेहरुलाई अशक्त भनेर सम्बोधन गरीएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतकाअध्यक्ष कृष्ण बजगाईकाअनुसार उनका कवितामा राष्टप्रेम, प्रकृति, जीवन र जगतको काव्यात्मक प्रष्फुटनका सुन्दर बान्की देखिएको छ । प्रा. डा.जिवलाल सापकोटाकाअनुसार उनका कवितामा विविधतापूर्ण नेपाली समाजका यथार्थपरक घटनाहरुदेखी लिएर नेपाली समाजका मानवीय स्वभाव, अवस्था, व्यवस्था, कुरीति र कुसंगतिहरुको यथार्थ चित्रण गरीएको छ ।
‘आफनै आँगन भुल्नेहरु’कवितामा उनले स्वाधिनतालाई छिद्र पारी खेल्नेहरुप्रति आपत्ति प्रकट गरेकी छन् भने ‘सँधै बचाईराख्न’ भन्ने कवितामा उनले आत्मियताका साँधहरु कोर्नुपर्ने प्रस्ताव गरेकी छन् । ‘जन्मिंदाको खोट’नामक कवितामा उनले धनी र गरीवको प्रश्न जन्मिंदाको रित हो र भनेर प्रश्न गरेकी छन् भने ‘किनेर खाने ठुलो हुदैन’भन्ने कवितामा उनले गरेर खाने संस्कृतिको पक्ष लिएकी छन् । ‘मन दुख्यो रे ’ भन्ने कवितामा उनले निश्छल आत्मामाथि तुषार पार्दा मन दुख्ने कुरा उल्लेख गरेकी छन् भने ‘मेरा देशका आत्माहरु ’ भन्ने कवितामा उनले बिचार र व्यवहारमा एकरुपता नभएकाले असन्तुष्टि बढ्ने जनाउ दिएकी छन् ।
‘सन्तान’कवितामा उनले माटो र देशको मूल्य बुझ्नुपर्ने गंभीर सन्देश दिएकी छन् भने ‘मूल्यवान आमा’ नामक कवितामा उनले आफ्ना सन्ततीको पौरख र आधुनिकजीवन देख्नै नपाई अचेत अवस्थामै भजनमा लिप्त हुन पुगेकी आमाको बिम्ब सहित घटना बिशेष उतार्ने प्रयास गरेकीछन् । ‘सभ्यताको चिनारी’ मा उनले आफैँआफै अर्थ लगाउने र गुनगान बटुल्ने विकृतिहरु पस्केकी छन् भने ‘राष्ट्र र राष्ट्रियता ’ मा उनले स्वार्थरहित कर्म नै देशप्रेम तथा देशभक्ति हो भनेकी छन । ‘प्रदुषित काँचा सम्बन्धहरु’मा उनले काँचा सम्बन्धबाट आत्मियता बाँच्नन नसक्ने कुरा बोलेकी छन् भने ‘तपाईको शहर’ मा उनले निर्दोष र सोझासाझालाई तगारो हालेर पासोमा पार्ने शहरमा सतर्क हुनुपर्ने कुरा लेखेकी छन् ।
‘बादल र संझौता ’ मा उनले विशाल मन र मुटुलाई अपमान र तिरस्कारले नभएर प्रेमभावले अगाल्नु पर्ने कुरा उल्लेख गरेकी छन् । यस्तै ‘जीवन अर्थहीन रहन्छ’मा उनले प्राणकी रानीलाई सम्बोधन गर्दै स्वप्रेमलाई अँगाल्दा यसको प्रभाव विशेष रहने कुराव्यक्त गरेकीछन् । ‘परिवेशले हारेको बेला’मा उनले अभाव र अज्ञानताका परिवेशमा साथदिनेप्रति सम्मान व्यक्त गरेकी छन् भने तिमी प्रिय छौ’ मा मानवता सहितको नेपालीपन रोजाइमा पारेकी छन । ‘मलाई गर्व छ’भन्ने कवितामा उनले ईतिहासको पुस्तकालयमा निडर र राष्ट्रप्रेमी आवाज खोजेको बताएकी छन् भने ‘ घरदेशमा विवाह ’ मा उनले भावनाहरुको मूल्य चाहेकी छन् ।
‘मानिस र मृत्यु’मा उनले बिभेद गर्नेहरु मृत्युसंगै बाँचेको प्रश्न उठाएकी छन् भने ‘सपनाको घोडा’ मा उनले मात्र एक पटक सवार गरेको सपनाको घोडासँगै आफनो आत्मीयता मिल्ने भन्दै मनोवैज्ञानिक रुपमा उक्त बिम्बलाई छिट्टै आउन पुकार गरेकी छन् । ‘पुराना रोगहरु ’ नामक कवितामा उनले अदृश्य चोट दिएका पुराना रोगहरु स्मरण गरेकी छन् भने ‘अन्तर्मनका भाकाहरु ’ मा बहानाका बोक्रे आवरण नपत्याउदै भावनाका साझा सवालहरुलाई धुन बनाउने धोको व्यक्त गरेकी छन् । ‘स्पिकर्स कर्नसको त्यो दिन’मा उनले बेलायत भ्रमणको प्रसंग सहित भावुक नयन, साहास र स्वाभिमान तथा बडेमानको हृदयजस्ता कुरा जोडेर इतिहासका योद्दाहरूलाइ उनले बिना सौदावाजी फर्कन अपिल गरेकी छन्। ‘कोरोना त्रास’मा उनले संकट, शोक र त्रासको भारी स्मरण गराएकी छन् ।
‘शिक्षा र राजनीति’मा उनले शिक्षामा बढी राजनीतिकरण गरिएको प्रति कटाक्ष गर्दै सीमा निर्धारणको माग गरेकी छन् भने ‘नारी आस्था’मा उनले आक्रोशले जीर्ण मष्तिष्क र दुव्र्यवहारले प्रश्रय दिएको समाजप्रति खवरदारी गरेकी छन् ।‘अदृश्य प्रेम’ मा उनले मेटीन नपाएको बर्षौदेखिको खत हुँदा र अल्मलिनु पर्दा पनि आफनो प्रेमले सुन्दर सपना देखाएको उल्लेख गरेकी छन् भने ‘थेम्सको दृश्य’मा बेलायती सभ्यताको निशानी कहिल्यै नमेटिने बताएकी छन् । उनको तिसाैं कविता ‘ब्राईटनको साँझ’ मा उनले आफ्नाहरुको अभाव बिर्साउने विभेदरहितको आश्रयस्थलका रुपमा व्याख्या गरेकी छन् ।
मनका वह, पीडा, परेशानी, हण्डर, ठक्कर, गोतामात्रै होईन रोमान्चीत अनुभुतिले पनि सृजना बढाउँछ । कवि पिमलाले हर्ष, रोमान्स र खुशिका क्षण व्यक्त गरेपनि संघर्षका पाटाहरुसँग समायोजन गर्दा उनले उत्कृष्ट मानव सभ्यताकै खोजिमा बढी बिम्बहरु जोडेकी छन् । जीवन र जगतका परिभाषा मानवहितका खाँतिर जोडिनुपर्ने आशय उनका कवितामा देखिएको छ । विश्वविद्यालयका विद्यार्थीलाई अँग्रेजी भाषा पढाएकी पिमलाले यो कृतिमार्फत सभ्यता र विकासको कवितात्मक कोर्ष पनि थपेकी छन् भन्न सकिन्छ ।
कविकी ममतामयी आमाप्रति समर्पण गरीएको यो कृतिको आवरण टाईम्स क्रियशनका सुन्दर बस्नेतले गरेका छन् भने वसन्तराजअज्ञातको सज्जा रहेको छ । ८८ पृष्ठको यो कृतिको मूल्य स्वदेशका नेपालीलाई रु. १७५ रहेको छ भने बेलायतवासी नेपालीका लागी झण्डै २ पाउण्ड रहेको छ ।