
काठमाडौं । ‘‘सुस्ता बचाउ अभियान’का संयोजक गोपाल गुरुङको उपचारका क्रममा निधन भएको छ ।
नवलपरासी पश्चिम सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि निरन्तर अभियान संचालन गर्दै आएका ६२ वर्षीय गुरुङको उपचारकै क्रममा मंगलबार राति भैरहवाको युनिभर्सल मेडिकल कलेजमा निधन भएको हो । गुरुङको मस्तिष्कघात भएका कारण एकमहिनादेखि उपचार भइरहेको थियो ।
२०६२ देखि भारतीय पक्षले सुस्तामा आफ्नो अतिक्रमण बढाएपछि सोहि वर्षदेखि गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ समिति गठन गरेर सुस्ता बचाउ अभियानमा सक्रियरुपमा लागेका थिए । भारतले अतिक्रमण गरेका सुस्ता लगायतका अन्य ठाउँमा स्थायी स्तम्भ राख्न पनि गुरुङले पहल गरेका थिए ।
उनको उपचारका लागि आर्थिक समस्या भएपछि केही समाजिक अभियन्ताहरुले गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरेर आर्थिक रकम जोहो गरेका थिए ।