काठमाडौं । मोटरसाइकल चलाउने र पछाडि बस्ने दुवैले अनिवार्य हेल्मेट लगाउने विषयमा छलफल सुरु भएको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा दुर्घटनाको बढी जोखिम हुने हुनाले हेल्मेट अनिवार्य रुपमा लगाउने पर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् ।
खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउदा दुर्घटना र जीवन जोखिममा पर्ने गरेको भन्दै दुर्घटना न्यूनीकरणका लागि उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
उक्त छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताएका थिए । ‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो । नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

छलफलमा सहभागी एमाले नेता, सांसद एवं ’रोड सेफ्टी एलायन्स’ का कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधन नै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनु परिरहेको बताए । उनले ‘रोड सेफ्टी काउन्सिल’ निर्माण गर्न समेत अनिवार्य भैसकेको, अन्तराष्ट्रिय रुपमै हेल्मेट बाध्यकारी हुँदै गएको र यसका लागि आम जनचेतना हुनुपर्ने बताए ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समीर अधिकारीले कुल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउदै हेल्मेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाइने गरेको बताए ।
झण्डै २५ बर्ष अगाडि प्रहरीले हेल्मेट अनिवार्य गर्ने नियम ल्याउँदा त्यसलाई विवादित बनाइएपछि बीचमै रोकिएको थियो । प्रहरी नायब महानिर्देशक (डीआईजी) मीरा चौधरीले आफ्नो सुरक्षाको अपनत्व स्वयं जनताले नै नलिएसम्म नियमहरू लागू गर्न सहज नहुने बताइन् ।
वि.सं.२०७९ माघ १७ मंगलवार २०:५२ मा प्रकाशित






























