काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
यो निर्णयसँगै रास्वपाको पहिलो सत्ता यात्रा ४२ दिनमै टुंगिएको छ । गत पुस १० को ‘बालकोट वार्ता’को सहमतिपछि रास्वपा सभापति रवि लामिछानेले पुस ११ मा उपप्रधानसहित गृहमन्त्रीको सपथ लिएका थिए ।
रास्वपाबाट एक राज्यमन्त्रीसहित थप तीन जना मन्त्रीले भने माघ ३ मा सपथ लिएका थिए । डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । पछिल्लो निर्णयसँगै बाँकी सबै मन्त्रीले पनि सामूहिक राजीनामा बुझाउने छन् ।
लामिछानेको भने यसअघि नै माघ १३ मा ‘नागरिकता मुद्दामा’ सर्वोच्च अदालतको फैसलापछि मन्त्री पद गएको थियो । अदालतले नागरिकता ‘प्रक्रियासंगत’ नलिएको भन्दै बदर गर्ने निर्णय गरेको थियो । अदालतको फैसलासँगै लामिछानेको ३३ दिनमै सत्ता यात्रा टुङ्गिएको थियो ।
लामिछाने सर्वोच्चको फैसलापछि गैरसांसद भएपनि गृहमन्त्री बन्न प्रयासरत थिए । सत्ता साझेदार दलहरु एमाले र राप्रपा लामिछानेलाई पुनः गृहमन्त्री बनाउने पक्षमा थिए । तर, सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले भने लामिछानेविरुद्धको सबै मुद्दा किनारा नलागेको भन्दै सहमति जनाएको थिएन । माओवादी केन्द्रको असहमतिपछि रास्वपाले पछिल्लो निर्णय लिएको हो ।
रास्वपा सभापति लामिछानेले यसअघि नै गृहमन्त्री आफुलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक–पटक ‘अल्टिमेटम’ दिएका थिए । गत बिहीबार बसेको रास्वपा बैठकले शनिबारसम्मको अल्टिमेटम दिएको थियो । तर, सुनुवाई नभएपछि आइतबारको बैठकबाट बाहिरिने निर्णय लिएको हो ।
वि.सं.२०७९ माघ २२ आइतवार १६:५६ मा प्रकाशित






























