
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न करिब एक साता बाँकी छ । तर, सत्ता गठबन्धनका मुख्य दल एमाले र माओवादी केन्द्रबीच भने राष्ट्रपति उम्मेदवारकै विषयले दुरी बढ्न थालेको छ । दुवै दलले पूर्ववत् अडान कायमै राख्दा दुरी बढ्दै गएको हो ।
बिहीबार माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिकै विषयलाई लिएर दुई घण्टा बढी वार्ता भएको थियो । तर, प्रचण्ड र ओलीबीचको दुई घण्टासम्म चलेको वार्ता निष्कर्षमा पुग्न सकेन ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार छलफल सहमति नजिक छैन । “आ–आफ्ना कुरा राख्ने अवस्था बन्यो, तर निष्कर्ष निस्कनेगरी कुराकानी हुन सकेन”, बिहीबारको छलफलबारे गजुरेलले भनेका छन्, “प्रधानमन्त्रीजीले अहिलेको आवश्यकता ‘राष्ट्रिय सहमति’बाटै टुंग्याउनुपर्ने बताउनुभएको छ, जसमा ओलीजी सहमत हुनुहुन्न ।”
सरकारमा आबद्ध नभएपनि कांग्रेससहित सबैजसो दलले विश्वासको मत दिएसँगै राजनीतिक परिस्थिति फेरिएको विश्लेषण माओवादी केन्द्रकाे छ । गजुरेल फेरिएको परिस्थितिमा सबैलाई समेटेर निर्णय लिनु अहिलेको आवश्यकता भएको बताउँछन् । उनका अनुसार माओवादी केन्द्र राष्ट्रिय सहमतिको एजेण्डाबाट पछि हट्ने अवस्थामा छैन ।
तर, एमालेले भने पुस १० को सहमति कार्यान्वयनको विकल्प देखेको छैन । एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पुस १० को सहमतिअनुसार राष्ट्रपतिलगायतका विषय टुंगीनुपर्ने बताउँछन् ।
“पुस १० मा जे सहमति भयो त्यो कार्यान्वयनको विकल्प हामीले देखेका छैनौ, जसको आधारमा नै गठबन्धनलाई बलियो बनाएर अगाडि जानुपर्छ”, ज्ञवालीले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “पूर्वसहमतिलाई हेर्दा राष्ट्रपतिको विषयमा विवाद नै आवश्यक छैन ।”
तर, एमालेकै एक नेता माओवादी केन्द्रले अडान राखिरहे विकल्पमा जानुपर्ने गरी पनि एमालेभित्र छलफल चलिरहेको बताउँछन् । एमालेभित्र हालको गठबन्धन तोड्न नहुने पक्षमा बलियो मत रहेको उनको भनाई छ । “विगतमा के भयो, ति विषयलाई सच्याउनु पर्छ, यो गठबन्धन तोडिन दिनु हुँदैन”, ती नेताले भनेका छन्, “माओवादी लचक नहुने अवस्थामा विकल्पमा जानुपर्छ । एमालेभित्रै पनि राष्ट्रिय सहमति हुने खालका पात्र छन् ।”
तर, अध्यक्ष ओली भने लचक हुने लाइनमा देखिन्नन् । यदि ओली लचक नभए गठबन्धनकै भविष्य खतरामा छ ।
एमाले–माओवादी दुरी बढ्दा कांग्रेसमा उत्साह
राष्ट्रपति निर्वाचनमा उम्मेदवार चयनको विषयले सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीच दुरी बढ्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने उत्साह देखिएको छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचनसँगै ‘कोर्ष करेक्सन’ हुने पनि बताएको छ ।
“विगतमा केही कमीकमजोरी हुँदा अवस्था बेग्लै बन्यो”, कांग्रेसका नेता गोपालमान श्रेष्ठ भन्छन्, “अब त्यो सच्याउनुपर्छ, प्रचण्डजीलाई विश्वासको मत दिएर ‘कोर्ष करेक्सन’को सुरुवात गरेका थियौं, अब राष्ट्रपतिको निर्वाचनले सबै कुरा मिलाउँछ ।”
राष्ट्रपतिको निर्वाचनसँगै सत्ता गठबन्धन पनि फेरिने विश्वास कांग्रेसको छ । “चुनाव मिलेर लडेका शक्तिबीच नै सत्तामा पनि सहकार्य हुनु आवश्यक छ र त्यो स्वभाविक पनि हो”, श्रेष्ठले भनेका छन्, “विगतका हर्कत हेर्दा एमालेबाट फेरि पनि मुलुक दुर्घटनामा पर्ने जोखिम छ, संविधानलाई सिध्याउने खेल हुने जोखिम छ, जसलाई जोगाउन पनि कांग्रेस र माओवादीसहित संविधानको पक्षमा उभिने शक्तिहरुबीच सहकार्य आवश्यक छ ।”