
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रपतिमा चयनका विषयमा कांग्रेसले माओवादी केन्द्रसहितका दलहरुसँग छलफल बढाएको बताएका छन् । कांग्रेसको तर्फबाट राष्ट्रपति बनाउने विषयमा माओवादी केन्द्र नै सहमत भएको दाबी श्रेष्ठको छ ।
श्रेष्ठले राष्ट्रपतिको निर्वाचनसँगै सत्ता गठबन्धन पनि फेरिने बताएका छन् । उनका अनुसार कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसँगै पुनः ब्यूँतिनेछ ।
प्रस्तुत छ, नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठसँग राष्ट्रपति निर्वाचनबारे केन्द्रीत गरी संसार न्यूज अनलाइनका सन्देश अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
राष्ट्रपति निर्वाचनको लागि मनोनयन गर्ने समय नजिकिँदै छ । तर, सत्ता गठबन्धनभित्र राष्ट्रपति निर्वाचनको विषयलाई लिएर विवाद बढ्दो छ । यो समग्र घटनामा कांग्रेस कहाँ छ र के तयारी गरिरहेको छ ?
राष्ट्रपतिको लागि कांग्रेसले उम्मेदवार उठाउँछ । सबैको सहयोगमा हामीले उठाउने उम्मेदवार राष्ट्रपति बन्छ । त्यसमा माओवादी केन्द्रले पनि सहयोग गर्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं । प्रधानमन्त्री प्रचण्डजी यसमा सकारात्मक हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो । कांग्रेसभित्र यही कोणबाट छलफल भइरहेको छ ।
पहिला अरु दलसँग छलफल गरेर उम्मेदवार उठाउनु हुन्छ कि उम्मेदवार उठाएर छलफल गर्नुहुन्छ ?
छलफल भइरहेकै छ । कांग्रेसले समावेशी तरिकाबाट आफ्नो उम्मेदवार उठाउँछ । त्यो उम्मेदवारको पक्षमा सबैको सहयोग आउँछ । माओवादी केन्द्रले जसरी छलफल चलाएको छ, सोहीअनुसार नै हामीले राष्ट्रपतिको उम्मेदवार उठाउँछौं । हामीले उठाउने उम्मेदवारमा माओवादी केन्द्रको सहमति हुनेछ । माओवादीसँग भएको प्रारम्भिक छलफल पनि सहमति हुने कोणबाटै छ । विशेषगरी तत्कालिन पाँच दलीय गठबन्धनका दलहरुबीच सहमति खोज्नेगरी हामीले छलफल चलाएका छौं ।
माओवादी केन्द्रले जसरी छलफल चलाएको छ, सोहीअनुसार नै हामीले राष्ट्रपतिको उम्मेदवार उठाउँछौं । हामीले उठाउने उम्मेदवारमा माओवादी केन्द्रको सहमति हुनेछ । माओवादीसँग भएको प्रारम्भिक छलफल पनि सहमति हुने कोणबाटै छ ।
माओवादी केन्द्रभित्र दलीय आबद्धता भएको पात्रलाई राष्ट्रपति बनाउन नहुने भन्ने कोणबाट छलफल चलिरहेको छ । यसलाई कांग्रेसले कसरी हेरेको छ ?
गैरराजनीतिक व्यक्ति भनेको कोही हुँदैन । एउटा न एउटा, कहीँ न कहीँ आबद्ध भएकै हुन्छ । दलीय व्यवस्थामा स्वतन्त्र व्यक्ति भन्ने नै हुँदैन । जुनसुकै मुलुककै उदाहरण हेर्दा पनि दलीय पात्र नै राष्ट्रपति भएको अवस्था छ ।
हिन्दुस्तान भनौ या अन्त कहिँ दल बाहिरको व्यक्ति आउँदैन । दलिय व्यक्ति भएपनि राष्ट्रपति भइसकेपछि उ सबैको हुन्छ । मुलुककै हुन्छ ।
यदि म राष्ट्रपति भएँ भने, म कांग्रेस भएर बस्दिन न नि ! नेपालको संविधानअनुसार जे–जति भूमिका छ, त्यसलाई अपनाउँदै अगाडि बढ्नै आवश्यक हुन्छ । राष्ट्रपति भनेको संविधानको रक्षार्थ सबैभन्दा माथिल्लो तहको पद हो । संविधानको रक्षा गर्ने भनेपछि संविधानले तोकेको दायरालाई स्वीकार गर्नुपर्छ ।
गणतन्त्र प्राप्तिपछिका दुई कार्यकाललाई हेर्दा राष्ट्रपति त्यति विवादमुक्त भएको देखिएन । सरकार र राष्ट्रपतिको बीचमा तालमेल नै भएको देखिएन । आफ्नै पार्टीको सरकार भए ठिक नत्र बेठिक भन्ने अवस्था देखियो । कता–कता राष्ट्रपतिहरुले संविधानभन्दा बाहिर गएर शक्ति अभ्यास गर्न खोजेको पनि देखियो । संविधानभन्दा बाहिर भएका राष्ट्रपतिको गतिविधिलाई यत्तिकै स्वीकार गर्न मिल्छ ?
कांग्रेसको तर्फबाट पहिलो पटक राष्ट्रपति बन्नुभएका रामवरण यादवको विषय बेग्लै छ । यादवको कार्यकालका बारेमा ‘कटुवाल प्रकरण’लाई लिएर प्रश्नहरु उठ्छन् । हामीले ध्यान दिनुपर्ने विषय, भर्खरै व्यवस्था परिवर्तन भएको अवस्थामा सरकारले जे–जसरी आर्मीलाई चलाउन खोज्यो त्यो गलत थियो । स्वयम् प्रचण्डजीले पनि तत्कालिन घटनालाई सही नभएको बताउनुभएको छ ।
तर, पछिल्लो राष्ट्रपतिको विषयमा केही प्रश्न उठेका छन् । ति विषयमा बेग्लै छलफल गर्न आवश्यक छ ।
राष्ट्रपतिको भूमिका बिसुद्ध सरकारलाई सहयोग गर्ने हो । संविधानको रक्षार्थ आवश्यक भूमिका निभाउने हो । सरकारलाई सहयोग गर्ने नाममा प्रधानमन्त्रीले संविधान विपरित भनेको काम पनि त गर्ने कुरा हुँदैन । त्यस्तो अवस्थामा सरकारलाई सुझाउने दायित्व पनि राष्ट्रपतिको हुन्छ ।
राष्ट्रपति कांग्रेसकै हुन्छ भनिरहँदा, कांग्रेसभित्र पात्रगत छलफल सुरु भएको होला नि होइन ?
पात्रगत छलफल भन्दा विधिगत छलफल राम्रो हुन्छ । कांग्रेसभित्र केही विधि बनाएर पात्रको खोजी गर्नुपर्छ भन्ने कोणबाटै छलफल चलेको छ । चुनाव जितेको वा हारेको नेतालाई अगाडि सार्न हुँदै भन्ने मत सबैको हो । जितेको पनि राष्ट्रपति भयो भने ठाउँ खाली हुन्छ, फेरि उपचुनाव गर्नुपर्ने हुन्छ । भर्खरै हारेको व्यक्तिलाई राष्ट्रपतिमा अगाडि सार्दा राम्रो सन्देश जाँदैन । सांसद भएको र सांसदमा हारेको व्यक्तिलाई अगाडि सार्न हुँदैन भन्ने बहस कांग्रेसभित्र भएको छ । कांग्रेसभित्र फ्रेस व्यक्तिलाई नै अगाडि सार्नुपर्छ भन्ने कोणबाट बहस चलेको छ ।
मधेशी, महिला र खसआर्यबाट राष्ट्रपति भइसकेका छन् । अहिले दलित र जनजातिको विषयमा छलफल चलेको छ । त्यही समुदायका पुरानो र योग्य व्यक्तिलाई अगाडि सार्नुपर्छ भन्ने बहस कांग्रेसभित्र छ । केही पात्रको नाममा चर्चामा आएको भएपनि टुंगो लागेको छैन ।
जनताको म्याण्डेट तत्कालिन पाँच दलीय गठबन्धनले नै सरकार चलाउनु पर्छ भन्ने हो । जसको सुरुवात राष्ट्रपतिको निर्वाचनसँगै हुनेछ । अहिलेको गठबन्धन तोडिन्छ र तत्कालिन पाँच दलीय गठबन्धन ब्यूँतिनेछ ।
राष्ट्रपतिको विषयले सत्ता गठबन्धनको भविष्य पनि निर्धारण गर्ने देखिन्छ । कांग्रेसको उम्मेदवारलाई माओवादीले सहयोग गर्ने भनेको कायम गठबन्धन तोडिनु पनि हो । तपाईंहरुको लक्ष्य विगतको पाँच दलीय गठबन्धनलाई ब्यूँताउनेतर्फ पनि केन्द्रीत हो ?
हामीले भोट हालेर जिताएको हो, प्रचण्डजीलाई । हामीले भोट हालेरै माओवादीको अहिलेको हैसियत कायम भएको हो । यसो भनिरहँदा हाम्रो हैसियत निर्माणमा पनि माओवादीको योगदान छ । जसकारण हामी त चाहन्छौं नि पुरानै गठबन्धन ब्यूँताऊँ । पाँच दलीय गठबन्धनकै तर्फबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहोस् भन्ने हाम्रो इच्छा हो । किनकी चुनावी म्याण्डेट पनि त्यही हो र, जुन प्राकृतिक पनि हुन्छ ।
कांग्रेसका केही नेताहरुले ‘कोर्ष करेक्सन’ हुनुपर्छ भनिरहनु भएको छ । विगतमा जे भयो त्यसमा दुवैतर्फबाट गल्ती भएको छ, त्यसलाई सच्याएर जानुपर्छ भन्ने उहाँहरुको कुरा छ । अब कोर्ष करेक्सन हुन्छ र पाँच दलीय गठबन्धन पुनः ब्यूँतिइन्छ भनेर बुझ्दा हुन्छ ?
त्यो वातावरण अवश्य बन्छ । त्यो नेपालको राजनीतिमा आवश्यक पनि छ । प्रधानमन्त्री प्रचण्डजीलाई हामीले जसरी विश्वासको मत दियौं, त्यो नै ‘कोर्ष करेक्सन’को सुरुवात हो । जसले राष्ट्रपतिको निर्वाचनसँगै मूर्त रुप लिनेछ । हामी पुरानै अवस्थामा फर्कन्छौं । परिवर्तनको रक्षा र राजनीतिक स्थायीत्वका निम्ति तत्कालिन पाँच दलीय गठबन्धन एक ठाउँमा आउनु अनिवार्य छ । जुन छिट्टै सबैले देख्नुहुनेछ ।
याे पनि…
राष्ट्रपतिमा खटपट : टाढिँदै एमाले–माओवादी