
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
फागुन २६ गते काठमाडौंमा सबै डिपि तथा शेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
डिपि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका नीति नियम, कार्यविधी तथा निर्देशन र प्रदान गरिएको प्रणाली प्रयोग गरी आफ्नो ग्राहकअरुलाई सेवा प्रदान गर्दै आएको छ । अन्तरक्रियामा डिपि तथा शेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी के कसरी सो समस्याहरुको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकहरुलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
सो कार्यक्रममा २५ डिपि तथा शेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तर्पबाट सूचना प्रविधि विभागका विभागीय प्रमुख तथा सहायक प्रबन्धक सुरेश न्यौपाने र कार्य संचालन विभागका अधिकृत देव राज रिजालको उपस्थिति रहेको थियो । त्यस्तै नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापीटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले कार्यक्रममा धन्यवाद मन्तव्य राखेका थिए ।