२८ चैत,विराटनगर । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न अग्रसर रहनुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरद्वारा निर्वाचन अधिकृतका लागि आयोजित दुई दिने निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष ढङ्गले सम्पन्न गराउने कार्यमा निर्वाचन अधिकृतको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस अवसरलाई सफलतापूर्वक सम्पन्न गराउनुपर्नेतर्फ केन्द्रित हुनुपर्ने विषयमा जोड दिनुभयो ।
आयुक्त दाहालले मतपत्र छपाई र नामावली तयार पार्ने काम सम्पन्न भइसकेको र मतदाता परिचयपत्रको तयारीको काम अन्तिम अवस्था र अन्य सामाग्रीको व्यवस्थापनको काम पनि भइरहेको जानकारी गराउनुभयो ।
उहाँले मुलुक निर्वाचनमय भएको र जनता उत्साहित हुनुका साथै प्रदेश नं–२ बाट पनि सकारात्मक सन्देश प्राप्त भएको जानकारी गराउनुभयो ।
उच्च अदालत विराटनगर कामु मुख्यन्यायधीश विदुरविक्रम थापाले बहुदलीय व्यवस्थाको सुन्दर पक्षनै निर्वाचन रहेको उल्लेख गर्दै यस पवित्र कार्यलाई सम्पन्न गर्ने जिम्मेवारी न्याय क्षेत्रले पाएकाले यस कार्यमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिने विश्वास व्यक्त गर्नुभयो ।
उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहालले लोकतन्त्रमा सत्ता प्राप्त गर्ने वैधानिक आधार नै निर्वाचन रहेको उल्लेख गर्दै अत्यधिक मतदाताबाट संविधानको समेत अनुमोदन भएकाले भयरहित वातावरण निर्वाचनलाई सम्पन्न गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
उक्त अवसरमा प्रजिअ यज्ञराज शर्मा, निर्वाचन आयोग क्षेत्रीय कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल, निर्वाचन आयोगका घनश्याम ओझाले निर्वाचनको सन्दर्भमा देखिएका विभिन्न विषयमा प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षणमा मेची अञ्चल र कोसी अञ्चलका सबै जिल्लाका निर्वाचन अधिकृतका साथै सगरमाथा अञ्चलका सप्तरी जिल्लाका गरी १२० जना निर्वाचन अधिकृतको सहभागिता रहेको छ ।
वि.सं.२०७३ चैत २८ सोमवार ११:३४ मा प्रकाशित