खोलाघरे साहिंलो, इलाम
खोटी भयो तराजू जोखिन्न जिन्दगानी
धेरै उँधो उँभो भो कोल्टे परी कमानी
लाग्ला र घाम तापूँ न्यानो भनेर पर्खें
पर्खी रहें म ढुक्कै खप्तै चिसा बिहानी
स्वप्ना र आश धेरै दर्ता गराइराखें
छन् थाकमा सबै ती यौटै नभै चलानी
तारा र जून झार्ने गर्थें ठुला कुरा जो
ऐले सबै भए ती बेकारका फुटानी
भागूँ कतै सुटुक्कै, पछ्याउँदो छ भाग्य
हुन्छन् जतासुुकै यी आकाश, घाम, पानी
दूरी बढोस् त भन्दा दायित्व, बाध्यता छन्
लाग्दोरहेछ खुट्टा यौटै हुँदा शिरानी
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : २२१ – २१२२ –२२१ – २१२२
वि.सं.२०७९ चैत १८ शनिवार ०८:२७ मा प्रकाशित






























