काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना नगर्ने १० वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र सम्पत्ति शुद्धीकरण निर्देशन उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।
केन्द्रीय बैंकले प्रभुसँग मर्जरमा गइसकेको सेञ्चुरी कमर्सियल बैंकलाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना तिराएको छ । चालु आर्थिक वर्षको साउन र भदौमा सीडी रेसियो कायम नगरेको भन्दै उक्त बैंकलाई नगद जरिवाना तिराएको हो ।
त्यसैगरी, सीडी रेसियो कायम नगरेको देखिएपछि नेपाल बैंक पनि कारबाही परेको छ । केन्द्रीय बैंकले नेपाल बैंकलाई १५ लाख ५९ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यसैगरी, भदौ महिनामा सीडी रेसियो कायम नगरेको आधारमा कृषि विकास बैंक र हिमालय बैंक पनि कारबाही परेका छन् । दुई बैंकलाई क्रमशः ६९ लाख ५८ लाख रुपैयाँ र ७१ लाख ७२ हजार रुपैयाँ जरिवाना परेको छ ।
नबिल बैंकले साउन, भदौ र असोजमा कर्जा निक्षेप नघाउँदा ६ करोड ४६ लाख रुपैयाँ जरिवाना तिरेको छ। ग्लोबल आइएमई बैंकले भदौ र असोजमा कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना तिरेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैेंक पनि कारबाही परेको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धिकरणको व्यवस्थाअनुसार काम नगरेको आधारमा राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख जरिवाना तिराएको छ ।
तत्कालिन क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंकलाई भने निर्देशिका उल्लंघन गरेको आधारमा राष्ट्र बैंकले चेतावनी दिएको छ। क्रेडिट एण्ड कमर्स बैंकले एकै समूहलाई एकभन्दा बढी पटक सहूलियतपूर्ण कर्जा उपलब्ध गराएको थियो। कुमारी बैंकले औचित्य बिनै सहुलियत कर्जा दिएको राष्ट्र बैंकले जनाएको छ।
क्रेडिट एण्ड कमर्स बैंकका तत्कालिन सिइओ अमृतचरण श्रेष्ठले आफ्नो अधिकारभन्दा बाहिर कर्जाका लागि स्वीकृत गरेको आधारमा राष्ट्र बैंकले कारबाही गरेको हो । क्रेडिट एण्ड कमर्स बैंक पाँच लाख तिराइमा परेको छ ।
वि.सं.२०८० वैशाख ८ शुक्रवार १२:५३ मा प्रकाशित





























