back

किन लाग्छ बाडुल्की ?

वि.सं.२०८० वैशाख १८ सोमवार

645 

shares
NTC AD
Global IME AD

बाडुल्की सबैलाई कहिले काहीँ आउने गरेको हुन्छ । तर, बाडुल्की किन आउँछ धेरैलाई स्पष्ट कारणबारे थाहा हुँदैन । कतिपयले बाडुल्की आउनुलाई कसैले सम्झेको रुपमा पनि बुझ्दछन् । तर, खासमा बाडुल्की किन आउँछ, यहाँ चर्चा गर्दैछौं ।

हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एक खालको पातलो मासुको झिल्ली हुन्छ। हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ। यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ। बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सासभित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ।

बाडुली सामान्यतयाः केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ। तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ। बाडुली किन लाग्छ ? यसको जवाफ अझै वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ।

उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ। तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुली लाग्न सक्छ। त्यसो त, प्राचीन कालमा सबै प्राणी र मानिससमेत पानीबाट विकसित भएर जमिनमा आएको र त्यसबेला गिलले सास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा बाडुली रहेको मान्नेहरु पनि वैज्ञानिक जगतमा छन् ।

विशेषगरी फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार बाडुली लाग्नुको रहस्य हाम्रो जीव विकाशक्रमको कुरासँग जोडिएको छ र यसले के संकेत गर्छ भने मानिसको प्राचीन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पति भएको जीवबाट विकास भएको हो। त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो । जुन बेला उनीहरु फोक्सोको माध्यमबाट नभई फुल्काको माध्यमबाट सास फेर्ने गर्थे। पछिल्लो समय पेरिसको अस्पतालमा क्रिस्चियन स्ट्राउसको नेतृत्वमा रहेका वैज्ञानिहरुको एक टोलीले गरेको दाबी अनुसार बाडुलीकै जस्तो प्रक्रियाले पानीमा बस्ने र फुल्काको मद्दतले सास फेर्ने जीवहरुको फुल्काको प्वाललाई खोल्ने र बन्द गर्ने क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ।

बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन। बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यतया अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन। यही कारणले गर्दा बाडुली किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ। यसबारे अझै अनुसन्धान जारी नै छ। एजेन्सीबाट

वि.सं.२०८० वैशाख १८ सोमवार १३:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD