काठमाडौं । २०७७ माघ २३ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले नारायणहिटी दरबारअगाडि गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा नेता रामबहादुर थापा बादलले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘चिडियाखानामा लगेर थुन्ने’ चेतावनी दिएका थिए । गृहमन्त्रीको रुपमा समेत बहाल रहेका उनले संसद विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड पक्षलाई तर्साउन यस्तो भाषाको प्रयोग गरेका थिए । बादलले प्रचण्ड पक्षले चलाएको आन्दोलनलाई ‘अपराधिक गतिविधिको’ रुपमा समेत चित्रण गरेका थिए ।
प्रचण्ड पक्षलाई चेतावनी दिँदै उनले भनेका थिए, “ति अपराधीहरुलाई, ति मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिनेछ ।”
पार्टीभित्रको आन्तरिक समीकरण आफु अनुकुल नभएपछि प्रधानमन्त्रीको रुपमा बहाल केपी शर्मा ओलीले २०७७ पुस ५ मा पहिलो पटक संसद विघटन गराएका थिए । ओलीले तत्कालिन नेकपाभित्रको विवादबाट किनारा पाउन यस्तो घटना घटाएका थिए । संसद विघटन गर्दै पार्टी कब्जाको रणनीतिमा रहेका ओलीलाई पूर्वमाओवादी खेमाकै भएपनि बादलले भने सघाएका थिए । पार्टी विभाजनमा सघाएका उनी ओली सरकार रहुन्जेल गृहमन्त्री पनि भइरहे । बादल २०७४ फागुन १५ देखि २०७८ असार २८ सम्म गृहमन्त्रीको रुपमा बहाल थिए ।
गृहमन्त्रीको रुपमा बहाल हुँदा अरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिने बादल आज भने आफै चिडियाखानामा थुनिने गरी फसेका छन् । आठ सय ७५ नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै ठगी गरेको आरोपमा उनी निकटस्थविरुद्ध कानुनी कारबाही सुरु भएको छ ।
प्रहरीले नक्कली शरणार्थी प्रकरणमा बादलका तत्कालिन सल्लाहकार इन्द्रजित राई र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ भने तत्कालिन उर्जामन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले रायमाझीको छोरालाई पनि पक्राउ गरिसकेको छ । प्रहरीले बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।
प्रहरीले उक्त प्रकरणका नाइकेहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पक्राउ गरि बयान लिएपछि अन्यलाई पक्राउ गर्न सुरु गरेको थियो । आरोपितको बयानअनुसार एकपछि अर्को गर्दैै प्रकरणमा जोडिएकाहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले थप अनुसन्धान प्रक्रियालाई तिव्ररुपमा अगाडि बढाइरहेको देखिन्छ । यस्तोमा अन्य थुप्रै पक्राउ पर्ने सम्भावना पनि छ ।
पक्राउ परेका सबैजसो बादलसँग जोडिएका पात्रहरु हुन् । घटनालाई केलाउँदा बादल पनि जोडिएको स्पष्ट देखिन्छ । यसलाई हेर्दा, बादलमाथि पनि कानुनी कारबाही हुने सम्भावना बढी छ ।
सम्बन्धित समाचार
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं ल्याइदैंं
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक थापा भन्छन् – मेरो कुनै संलग्नता छैन
भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ
वि.सं.२०८० वैशाख २१ बिहीवार १४:३२ मा प्रकाशित






























