
पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नं. ५ ले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
वडा कार्यालय परिसर चिसापानीमा सोमबार आ.व.२०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका अध्यक्ष निर्भीक नारायण भुर्तेलले चालु आ.व.को अवधिमा वडाले प्रदान गरेका सेवा तथा नीति, योजनाहरुको विषयमा प्रकाश पारेका थिए ।
चालु आवमा गाउँपालिकाबाट उपलब्ध कूल ६५ लाख बजेटबाट वडाको पूर्वाधार विकास, खानेपानी, सडक मर्मत तथा सामाजिक विकास लगायतका कार्यक्रमहरु गरी ३८ वटा योजनाहरु निर्माण गरिएको भुर्तेलले जानकारी दिए ।
अध्यक्ष भुर्तेलले चालु आ.व.मा सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिँदै आगामी नयाँ आर्थिक वर्षमा नागरिकका माग र आवश्यकतालाई मध्यनजर गरेर ठोस योजना बनाइने समेत बताए ।
कार्यक्रममा पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले समृद्ध पैयूँ निर्माणको लागि सबै नागरिकको सहभागिता अपरिहार्य रहेको बताउँदै योजना निर्माण तथा कार्यन्वयनमा पनि उत्साहपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताइन् । रानाले सिमित आयश्रोतका कारण स्थानीय सरकारले नागरिकका सबै आवश्यकताहरुलाई एकैसाथ पूरा गर्न नसकेको बताइन् ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले चालु आ.व.मा पालिकाले बनाएका योजनाहरु धेरैमात्रामा कार्यान्वयन भएको बताए ।
‘उपभोक्ता समितिबाट भएका कामहरुमा नागरिकले कुनै गुनासो नगर्नु आफैमा सकारात्मक पाटो हो, यसबाट उपभोक्ता समितिले राम्रोसँग काम गरिरहेको छ भन्ने अर्थ हुन्छ ।’ लामिछानेले योजनाका कामहरु पनि सुचारु रुपले चलिरहेको बताए ।
त्यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले राखेका विकास निर्माण, सामाजिक चेतना, वडाको शैक्षिक विकास तथा अन्य विषयका जिज्ञासाहरुमा वडाअध्यक्ष, पालिका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जवाफ दिएका थिए ।