back
CTIZAN AD

लोकतन्त्र कि लुटतन्त्र ?

वि.सं.२०८० जेठ ११ बिहीवार

2.2K 

shares

लोकतन्त्र जनताको शासन हो । यो जनइच्छा र विधिद्वारा शासित हुने व्यवस्था हो । यसमा शासक र शासित वर्गमा विभाजन हुँदैन । उनीहरूबीचको सम्बन्ध र उत्तरदायित्व कानुनले निर्धारण गरेबमोजिम हुन्छ । असहमत हुन पाउनु लोकतत्व हो । लोकतन्त्रमा बहस गर्न पाइन्छ र फरक मत पनि उत्तिकै मात्रामा प्रस्तुत हुन्छ । फरक मतलाई सम्मान दिइन्छ । पैसा र शक्तिको आडमा सञ्चालन गरिने राजनीतिले जनताप्रतिको जिम्मेवारी बहन गर्न सकिँदैन । अराजक राजनीतिले पराकाष्ठा नाघेपछि विद्रोह हुने गर्दछ र समाज रूपान्तरणको दिशामा अघि बढ्छ ।

लोकतन्त्रको विशेषता

राज्यको सर्वोच्च स्थान जनतामा निहीत हुनु लोकतन्त्रको विशेषता हो । असल लोकतन्त्रमा हरेक परिवर्तनका अधिकार जनताको मतमा आधारित हुनुपर्छ । यसमा कुनै आदेश, सनक वा तजबिज चल्दैन, पूर्णतः लोकतान्त्रिक मूल्यमान्यताको आधारमा विधिअनुरूप सञ्चालित हुनु लोकतन्त्र हो । पुँजीवादले समाजवाद‌सँगको टक्करमा विकसित गर्दै लगेको विषय हो लोकतन्त्र । लोकतन्त्रका लागि नभई नहुने केही सर्तहरू हुन्छन् । आधुनिक बजार अर्थतन्त्र तथा समाज कुनै प्रलोभनमा नपरी काम गर्न सक्ने, उच्च मनोबल भएको कर्मचारीतन्त्र, सेवा र प्रहरीउपर निर्वाचित पदाधिकारीको नियन्त्रण, बलियो बाह्य शक्तिको नियन्त्रण नभएको, उच्च गुणस्तरका राजनीतिज्ञ, आलोचना सहन सक्ने र गलती नदोहोर्‍याउने राजनीतिक संस्कार आदि ।

लोकतन्त्रको रूप

लोकतन्त्रका दुई प्रकारका रूप हुन्छन् । पहिलो, अप्रत्यक्ष लोकतन्त्र र दोस्रो, प्रत्यक्ष लोकतन्त्र । अप्रत्यक्ष लोकतन्त्रमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले राज्य सञ्चालन गर्दछन् । अहिले नेपालमा अप्रत्यक्ष लोकतन्त्र अभ्यासमा छ । यसले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई जन्म दिएको छ । पुँजीवादी अर्थव्यवस्थाकै कारण राष्ट्रिय अर्थतन्त्र धरासायी बन्दै गएको छ । कालोबजारी, तस्करी, भ्रष्टाचार, कमिशन, कृतिम अभाव र महँगीले जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । प्रत्यक्ष लोकतन्त्रमा जनता स्वयम् सहभागी भई शासन सञ्चालन गर्दछन् । यस‌मा सुशासन हुने, जवाफदेहिता बढ्ने, भ्रष्टाचार नहुने, छोटो समयमै विकास र समृद्धि प्राप्त गर्न सकिने, राजनीतिक स्थिरता कायम रहने अवस्था हुन्छ । प्रत्यक्ष लोकतन्त्रमा कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री)को व्यवस्था हुन्छ । नेपालका लागि उपयुक्त र उत्तम प्रणाली भनेको प्रत्यक्ष लोकतन्त्र हुनसक्छ ।

संसदीय व्यवस्थाप्रतिको वितृष्णा

संसदीय व्यवस्था पुँजीवादी सत्ताको राजनीतिक स्वरूप हो। यो वास्तविक रूपमा जनताको व्यवस्था होइन । यो किसान, मजदुर र श्रमिकवर्गको स्वार्थ र हितमा संगठित र सञ्चालित लोकतन्त्र होइन । यो मूलरूपमा पुँजीपति वर्गको हितमा संगठित र सञ्चालित प्रजातन्त्र हो । संसदीय व्यवस्थाले जनतालाई भ्रम पस्केको छ भने आफ्नो शोषण‌लाई अक्षुण्ण राखेको छ । संशोधनवादीले संसदीय व्यवस्थालाई प्रगतिशील बताएर हरतरहले त्यसको रक्षा गर्ने कसरत गर्दै आएका छन् । संसदीय व्यवस्था भनेको पुँजीपतिवर्गको अधिनायकत्वको साधन हो । संसदीय बाटोबाट न वास्तविक शक्ति सञ्चय नै सम्भव छ, न प्रगतिशील सुधार नै सम्भव छ । यसमा दण्डहीनता, भ्रष्टाचार र कुशासन एकमुष्ट रूपमा गाँठो परेर बसेको हुन्छ । सिद्धान्त, नैतिकता, निष्ठा इमान्दारीता र समर्पण जस्ता राजनीतिका माननीय गुण निरीह वा समाप्त हुँदै संसदीय व्यवस्थामा शक्ति र पैसाको बोलवाला बढेर गएको छ । संरचनागत र संस्थागत भ्रष्टाचार संसदीय व्यवस्थाको अघोषित विशेषता बन्न पुगेको छ । आमनागरिक र आउँदो पुस्ताको भाग्य र भविष्य बिगार्ने संसदीय व्यवस्थाप्रतिको वितृष्णा अहिले छताछुल्ल भएको छ ।

लुटतन्त्रको राज

पारदर्शिता, विधिको शासन, शक्ति विन्यास, नियन्त्रण र सन्तुलनयुक्त राज्य सञ्चालन लोकतन्त्रमा हुन्छन् । संरचनागत लुट लोकतन्त्रको अघोषित रूप बन्नु बिडम्बना हो । भ्रष्टाचार आफैमा नदेखिने हिंसा हो । जसलाई नियन्त्रणमा राख्न नसक्नु भनेको लुटतन्त्रको राज कायम रहनु हो । लोकतन्त्रमा कसैलाई पनि लुट्ने छुट हुँदैन, तर अहिले संसदीय शासकीय स्वरूप अस्तित्वमा रहेकोले लुटतन्त्र कायम छ । समाजमा मानवले मानवमाथि लुटतन्त्र मच्चाईरहन्छ भने त्यसको पर्दाफास गर्नु जरुरी हुन्छ ।

नेपालमा लाउडा काण्ड, सुन काण्ड, मेलम्ची, ओम्नी, सेक्युरिटी प्रेस, यति, ललिता निवास, वाइड बोडी, नेरो बोडी जस्ता थुप्रै काण्डहरू छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा करोडौं रकम कुम्ल्याउने काम भएको छ। यी लुटतन्त्रका फाइलहरू अब जनताले खोल्नका लागि व्यापक दबाव दिनुपर्ने बेला आएको छ । राजनीति भनेको नैतिक धरातलमा उभिएर जनताप्रति समर्पित भई काम गर्ने संस्कार हो । यो संस्कारलाई स्थापित गर्न लुटतन्त्रको अन्त्य हुनु जरूरी छ । अहिलेको संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था स्थापना गर्न सकेमा यो सम्भव छ, त्यसतर्फ हामी सबै लागौं।

#चन्द्रबहादुर नेपाली #विचार

वि.सं.२०८० जेठ ११ बिहीवार १४:२५ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...