काठमाडौं । सन्राइज बैंकले २४० स्थानीयलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको हो ।
निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरिएको उक्त शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए ।
शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका उनीहरुले खुसी हुँदै बैंकले दिएको उक्त निःशुल्क सेवालाई धन्यवाद दिएका थिए ।
बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुख शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरकामुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितीमा उक्त शिविर संचालन गरिएको थियो ।
दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ ।
वि.सं.२०८० जेठ २८ आइतवार १७:१८ मा प्रकाशित



























