back
CTIZAN AD

टिकटक : सदुपयोग गर्न जाने वरदान, नजाने अभिशाप !

वि.सं.२०८० जेठ ३२ बिहीवार

1.6K 

shares

पछिल्लो समय नेपालीहरुको समय व्यतित गर्ने एउटा प्रभावकारी माध्यम बनेको छ सामाजिक सञ्जाल एप ‘टिकटक’ । झट्टा हेर्दा, सामान्य मनोरञ्जनात्मक एप लागेता पनि यसले समाजलाई विस्तारै नकारात्मक दिशातर्फ धकेल्दै लगिरहेको छ भन्दा अतिसयोक्ती नहोला । अहिले गृहिणीदेखि विद्यार्थी, शिक्षक, कर्मचारी, कलाकार, खेलाडी, राजनीतिज्ञ, व्यवसायीलगायत सबै क्षेत्र र तप्कासम्मका व्यक्ति टिकटकको दलदलमा फसेका छन् ।

हिजोआज खेतबारी, वनपाखा, चमेनागृह, स्नानगृह, शयनकक्ष तथा कार्यक्षेत्रका सम्पूर्ण गतिविधिहरू समेत टिकटकीकरण हुन थालेका छन् । समुदायमा मारपिट, झैझगढा, गालीगलौज गरेको, कसैको अन्तरंग वा आपत्तिजनक अवस्थाको, कसैको बाध्यता, बिवसता, लाचारीपन या आकस्मिक अवस्थाको, कसैको कुरपता, सुन्दरतालाई लिएर होस् अथवा कुनै धर्म, जाति, वर्ण, समुदायप्रति लक्षित गरेर नै होस्, कसैप्रति आग्रहपूर्वाग्रह ढंगले अतिरञ्जित गरी लाल्छना, दोष, आरोप लगाउदैं चरित्र हत्या गर्ने उद्देश्यले, कुनै विषयमा समाजमा भ्रम फैलाउने, अदालतमा प्रवेश गरेको विषयमा टिकाटिप्पणी गर्ने तथा आफैं न्यायधिश बनेर मुद्दा प्रभावित पार्ने, समाजमा जातीय, धार्मिक, साम्प्रदायिक हिंसा, अशान्ती तथा उदण्ड मच्चाउने, अश्लीलतालाई पक्षपोषण गर्ने खालका उच्छृंखल गतिविधिहरु सामाजिक सञ्जाल अझ बढी टिकटकमार्फत भैराखेका छन् । यसले एकातिर सामाजिक शुव्यवस्था, शान्ति र अमनचैनमा गम्भिर आघात पुगेको छ नै अर्कोतर्फ व्यक्तिको हक, अधिकार, स्वतन्त्रता र गोपनीयतालाई समेत कुण्ठित गरेको छ ।

जुनसुकै प्रयोजनको निम्ति नै किन नहोस् बिना अनुमति कसैको निजी जिवनको तस्विर, भिडियो खिचेर अतिरञ्जीत गर्ने, दुष्प्रचार गर्ने कार्यलाई हाम्रो संविधान, ऐन कानुनले दण्डनीय मानेको छ । कोही कसैसँग भिन्न मत या विचार हुँदैमा या व्यक्ति मन नपर्दैमा उसको तस्बिर, भिडियो वा प्रोफाइल सामाजिक सञ्जालमा अपलोड गरी गालीगलौज, बेइजती, चरित्रहत्या, मानमर्दनलगायत जुनसुकै प्रकारको गतिविधि गरेको पाइएमा नेपालको प्रचलित कानुनबमोजिम गालीगलौज, अभद्रव्यवहार र मानहानीको कसुरमा कानुनको कठघरामा पुगिनेछ । कुनै कसुर या अपराधको न्यायसम्पादन गर्ने वैधानिक कानुन अस्तित्वमा हुँदाहुँदै सामाजिक सञ्जालमा आफैं न्यायाधिश बनेर कुनै विषय अथवा मुद्दामा फैसला गर्ने अधिकार कसैलाई पनि छैन र कहिल्यै स्वीकार्य हुनेछैन ।

सामाजिक सञ्जाल टिकटकको सही सदुपयोग गर्ने हो भने यसबाट अद्धितिय उपलब्धि र फाइदा लिन सकिन्छ । टिकटकबाटै आफ्नो व्यापार व्यवसायको प्रबद्र्धन र प्रचार प्रसार गरी आम्दानी बढाउन सकिन्छ । आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पदा, स्थानीय रैथाने खानाका परिकार, सांस्कृतिक चालचलन, भेषभुषा तथा स्थानीय उत्पादनको बजारीकरणका साथै पर्यटन प्रबद्र्धनसमेत गर्न सकिन्छ । टिकटकबाटै पाकवान सम्बन्धि ज्ञान, अभिनय कला, नृत्यकला तथा गायनको स्वअध्ययन गर्दै मनोरञ्जनसमेत लिन सकिन्छ ।

आधुनिक नविनतम प्रविधिको द्रुत विकास र विस्तारले सम्पूर्ण विश्व एक साँघुरो घेराभित्र खुम्चदै गइरहेको छ । स–साना घटना अझ नकारात्मक विषयवस्तुहरु सामाजिक सञ्जालमार्फत केही क्षणमै विश्वभर फैलन्छ । पश्चिमाको तिब्र अतिक्रमणमा परी पिल्सिदै गइरहेको हाम्रो धर्म, संस्कृति, परम्परा, भाषा, सभ्यतालाई बचाउँदै नवपुस्तालाई यसको अपनत्व र आत्मबोध गराउन पनि सामाजिक सञ्जाल विशेषतः टिकटक सिद्ध सावित हुनसक्छ । विश्वभरिको नवीनतम ज्ञान तथा प्रविधिको साक्षात्कार गर्न, साहित्य, कला, भाषा, संस्कृतिको आदान प्रदान गर्नका साथै हिमाली जनजीवन, प्राचीन काष्ठकला, वास्तुकला, ऐतिहासिक मठमन्दिर तथा सम्पदाको प्रचार प्रसार गरी पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ जसले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्दै आम्दानीका स्रोतहरुको समेत बढोत्तरी हुन्छ ।

विकसित तथा समृद्ध देशहरुले अपनाएका विकासका सिद्धान्त र प्रविधिको अध्ययन गरी आफ्नो क्षेत्रमा प्रयोग गर्न सकिन्छ । समयको सही सदुपयोग गरी आर्थिकरूपले लाभ लिनाको साथै ज्ञान, दर्शन, कला, विज्ञान, योगा, स्वास्थ्य तथा अध्यात्मको प्रचुर ज्ञान हाँसिल गर्दै अरूमाझ सहजै पु¥याउन सकिन्छ । यसबाट स्वयमलाई अझ तिखार्दै, निखार्दै, परिस्कृत र परिमार्जित गर्दै ज्ञानको दायरालाई बृहत बनाउन सकिन्छ ।

तर, सस्तो लोकप्रियता, टिकटक गिफ्टको लोभ, फलोअर्स, भ्यूज बढाउने र भाइरल हुने नाममा अश्लिल हाउभाउ, संवाद तथा प्रस्तुती गर्ने, अबोध वालवालिका तथा वृद्धवृद्धाहरुलाई उच्छृंखल गतिविधि गराउने, समाजमा अपाच्य, दोहोरो अर्थ लाग्ने वाक्य तथा शब्द रटाएर अनेक हर्कत तथा अवाञ्छनीय कार्य गर्ने तथा गराउने गरेको पाइन्छ । बालबालिकाहरुको गलत प्रयोगले भोलिका कर्णधार बालशुलम मस्तिष्कमा नकारात्मक असर र प्रभाव पु¥याउँछ । त्यस्तै,, दुर्घटनाको जोखिमयुक्त ठाउँ, खोला किनार, भिरपाखा, बिजुलीको पोल, पर्खाल, व्यस्त सडक, खेतबारी, सार्वजनिक स्थान, धारा, कुवा, पधेँरो, बालीनाली, बागवानी, संरक्षीत तथा अति संवेदनशील क्षेत्रमा भिडियो खिच्ने, टिकटक बनाउने, होहल्ला गर्ने कार्यले एकातिर दुर्घटनाको जोखिम बढ्छ भने अर्कोतिर बालिनाली फाँडिने तथा नष्ट हुने साथै पर्यावरणमा असर परी संरक्षित तथा दुर्लभ बनस्पती, बन्यजन्तु र चराचुरुङ्गीलाई प्रत्यक्षरूपमा गम्भीर आघात पुग्नुका साथै शान्ति सुव्यवस्था,आत्मसम्मान,राष्ट्रको सुरक्षा, संवेदनशीलता,गोपनियता, स्वाधिनता र सार्वभौमिकतामा समेत गम्भीर खलल उत्पन्न हुने तथा सामाजिक, सांस्कृतिक, जातीय, लैङ्गिक, धार्मिक साम्प्रदायिकता भड्कने खतरा बढ्न सक्छ ।

स्वतन्त्रता र आधुनिकताको नाममा समाजमा पच्नेभन्दा बढी नखुलौं । पश्चिमा समाज र नेपाली समाजबिच अझ पनि धेरै ठूलो खाडल रहेको छ । उता पच्ने तथा सामान्य लाग्ने व्यवहार यता अपाच्य र असमान्य लाग्न सक्छ । एकाईसौं शताब्दीको नारा जति नै घन्काए पनि हाम्रो समाजको गति धेरै पछाडि रहेको छ । युरोप, अमेरिकामा स्वभाविक र स्वीकार्य हुने सामाजिक व्यवहार र क्रियाकलाप हाम्रो समाजमा अभद्र, अनैतिक र अश्लील लाग्नु स्वभाविक हो ।

धेरैजसो टिकटकमा गुणस्तरहीन र सतही सामग्री पोस्ट गर्ने र लाइभमा आएर अस्वाभाविक गतिविधि गर्ने गरेको पाइन्छ । त्यही भएर टिकटक भिडियो बनाउँदा होस् वा लाईभमा आएर क्षणिक आवेग, उक्साहट र उत्तेजनामा कसैलाई गालीगलौज गर्ने, अश्लिल हर्कत तथा संवाद गर्ने, वस्त्रविहीन भएर नाङ्गो नृत्य देखाउने, उच्छृंखल हाउभाउ र प्रस्तुती दिने, अभद्रपन, अनैतिक र अपाच्य विषयवस्तु र क्रियाकलाप प्रस्तुत गर्ने, शरीरको मोलमोलाई गर्ने, कसैको चरित्रहत्या गर्ने, गलत सुचना तथा अफवाह फैलाउने तथा सामाजिक सुव्यवस्था भङ्ग हुने जस्ता अमानवीय कार्य तथा हर्कत गरिनुहुँदैन । आफ्नो धैर्यता र संयमता गुमाउनुहुँदैन । क्षणिक त्यस्ता अवाञ्छित कार्यले परिवार तथा समाजमा आफ्नो छवी धुल्मुलिने, झैझगडा र कोलाहलको बीउ रोपिने, वैवाहिक सबन्धमा दरार उत्पन्न हुने मात्र नभई परिवार र समाजबाटै तिरस्कृत तथा वहिस्कृत हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । फलस्वरूप हत्या, आत्महत्या जस्ता गम्भिर दुर्घटना समेत निम्तिने खतरा रहन्छ ।

टिकटकको भिडियो वा लाइभको कारणले कसैको सम्बन्धको धागो नचुडीयोस् । व्यक्तिको मान, मर्यादा, प्रतिष्ठा र इज्जतमा दाग नलागोस्, स्वाभिमानमा ठेस नपुगोस् । कसैको घर व्यवहार नबिग्रियोस् । साथीसंगी, ईष्टमित्रका अगाडी नजर गिराउन नपरोस् । समाबाट बहिस्कृत हुन नपरोस् । तसर्थः सबैले आआफ्नो क्षेत्रबाट राष्ट्रलाई सकेजति सहयोग गरी असल नागरिकको परिचय दिनुनै बुद्धिमता ठहर्छ ।

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:१६ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...