back
CTIZAN AD

बागलुङका ७७ मुहानको खानेपानीमा दिसामा पाइने ‘कोलीफर्म’ भेटियो

वि.सं.२०८० असार २३ शनिवार

1.3K 

shares

गलकोट । बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको हो ।

स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताए । उनका अनुसार निसीखोलामा मात्रै सात स्थानका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मुल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यको भनाइ थियो ।
“निसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलिफर्म भेटिएको थियो”, उनले भने, “स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।”

आचार्यका अनुसार बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ । यहाँका करिब ६० हजार नागरिकले उक्त पानी उपभोग गर्दै आएका छन् ।

जिल्लाका नागरिकले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा जिल्लास्थित स्वास्थ्य कार्यालयले बर्सेनि परीक्षण गर्दै आएको कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । परीक्षणका क्रममा पानी तथा मुहान दूषित देखिए उपभोक्तालाई सचेत गराउँदै आएको उनले बताए ।

कोलिफर्म देखिएका खानेपानीको मुहानमा सरसफाइ गरी किटनाशक औषधि प्रयोग गरेर मात्रै वितरण गरिने प्रमुख शर्माले बताए । एकपटक गरिएको परीक्षण र सरसफाइले मात्रै समस्या समाधान नहुने भन्दै उनले खानेपानी उपभोक्ता समिति बढी जिम्मेवार हुन आवश्यक रहेको जनाए ।

“कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने गर्दछ, जिल्लाको केही गाउँ र विद्यालयमा रोगको सङ्क्रमण चालु आर्थिक वर्षमा नै आइसक्यो”, प्रमुख शर्माले भने, “कोलीफर्म भएको पानीले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ, हिउँदका समयमा भन्दा बर्खायाममा कोलीफर्म बढी भेटिन्छ ।” उनका अनुसार वर्षाका कारण बगेर आएको पानीले जमिन तथा पानीको स्रोतमा रहेको फोहरलाई मिसाउँछ र पानी दूषित हुन्छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाइ छ । कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने अवस्था आउनसक्ने भन्दै यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य पद्दतिद्धारा शुद्ध बनाएर पिउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कोलीफर्म फेला परेका खानेपानी मुहानका उपभोक्ता समितिलाई कोलिफर्म निमूल पार्न स्वास्थ्य कार्यालयले सचेत बनाइरहेको भन्दै मुहान सरसफाइ गराउन तथा पाइपलाइन मर्मत गर्न उपभोक्ता समितिलाई ताकेता गरिएको कार्यालयले जनाएको छ । रासस

 

वि.सं.२०८० असार २३ शनिवार १६:०५ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...