“प्रचण्ड १७ हजार मानिसको हत्यारा हुन् ! प्रचण्डले लडाकु शिविरमा अरबौं भ्रष्टाचार गरेका छन् ! प्रचण्डले दुबईको एउटा बैंकमा अरबौं रूपैयाँ राखेका छन् ! बुढीगण्डकी परियोजनामा प्रचण्डले अरबौं भ्रष्टाचार गरेका छन् !” यस्तै–यस्तै होइन त प्रचण्डलाई लाग्दै आएको आरोप ?
कसैले एउटा सानो नकारात्मक अभिव्यक्ति कसैको विरुद्धमा बोलिदियो भने, त्यसले त्यो व्यक्तिको जीवन नै धरासायी बनाइदिन्छ । हो, प्रचण्डलाई पर्यो त्यस्तै । प्रचण्डलाई भयो, त्यस्तै । र, प्रचण्डलाई बनाइयो त्यस्तै । अब प्रचण्डमाथि लागेको यति धेरै आरोप कसले पुष्टि गर्ने ? के प्रचण्डले १७ हजार मानिस मारेकै हुन् त ?
त्यो त सशस्त्र संघर्षका बेला तत्कालिन सरकार र बिद्रोही दुवै पक्षबाट धेरै नागरिकले ज्यान गुमाउनु प¥यो । २०५२ मा फागुन १ गते तत्कालिन विद्रोही पार्टी नेकपा (माओवादी)ले जनयुद्ध घोषणा गरेको थियो । तत्कालीन अवस्थामा जनताको जनजीवीकाको सवालसहित विविध ५० बुँदे माग तत्कालिन सरकारसँग राखेको थियो । संविधानसभाको निर्वाचन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र सुशासन आदि ५० बुँदे मागभित्रको प्रमुख माग थियो । तर, तत्कालिन सरकारले ती मागहरुलाई हल्कारूपमा लिएन मात्र ती मागहरु सर्सती सबै पढ्ने समय पनि निकालेन । त्यही अपहेलनाको मुख्यकारण जनयुद्धको सुरुवात होभन्दा फरक पर्दैैन ।
तत्कालिन समयमा जनयुद्धको घोषणा गरेको विद्रोही पक्षले सरकारलाई अल्टिमेटमसमेत दियो, त्यसमा पनि तत्कालिन सरकार मौन बस्यो, मौनता साध्यो । र, सशस्त्र संघर्ष सुरू भयो । सशस्त्र संघर्षमा दुवै पक्षबाट १२–१३ हजार (पाँच हजार विद्रोही पक्षबाट र बाँकी तत्कालिन सरकार पक्षबाट) मानिसहरूले सहादत प्राप्त गरेको तथ्यांक सार्वजनिक भयो ।
१७ हजार अथवा जे–जति नागरिकहरु युद्धमा मारिएको भएपनि मारिएका सबैको दोष प्रचण्डलाई मात्र दिन जायज छ त ? कदापी छैन । तत्कालिन नेकपा (माओवादी) एउटा सशक्त राजनीतिक दल थियो र अझै पनि हो । त्यो दलभित्र केन्द्रीय समिति थियो । मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ जस्ता प्रचण्डकै हैसियत भएका नेताहरू सँगै थिए । त्योभित्र हजारौं नेता कार्यकर्ताहरू थिए । के त्यो सशस्त्र संघर्ष गर्ने घोषणा प्रचण्ड एक्लैले गरेका थिए त ? प्रचण्ड एक्लैले राति सुटुक्क गएर छानी छानी १७ हजार मानिसहरूको हत्या गरेका हुन् त ? तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष गर्ने प्रस्ताव पार्टीको केन्द्रीय समिति बैठकमा राख्यो । त्यसलाई सर्वसहमतिले अनुमोदन ग¥यो । आम नेता कार्यकर्ताहरूलाई युद्ध गर्नुपर्ने बारे कारण र यसको आवश्यकताबारे विश्वास दिलाइयो । त्यसपछि मात्रै हजारौँ लडाकु अथवा जनमुक्ति सेनाहरू स्वतःस्फूर्त परिचालित भए । र, अधिकांश नेपाली जनताले पनि साथ दिए । १० वर्ष सशस्त्र युद्ध अथवा जनयुद्ध भयो । जनयुद्धमा १२–१३ हजार मानिसहरूले सहादत प्राप्त गरे । अब, १७ हजार प्रचण्ड एक्लैले मारेको भन्ने कसरी भयो त ?
०६२÷६३ सम्म आइपुग्दा कांग्रेस र एमालेले माओवादीले उठाएका मुद्दाहरूलाई जायज मान्न थाल्यो । र, पूर्वराजा ज्ञानेन्द्रसँग चिढिएका ती दलहरुले उनलाई घुँडा टेकाउन प्रचण्डको सहारा लिएको होइन र ? तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात दल मिलेर १९ दिने ऐतिहासिक जनआन्दोलनले ज्ञानेन्द्रलाई विस्थापित गरेर गणतन्त्र स्थापित गरेको होइन र ?
०६४ को पहिलो संविधान सभा चुनावमा तत्कालिन विद्रोही पार्टी नेकपा (माओवादी)लाई ३२ लाख नेपाली जनताले मतदान गरेर जनयुद्धलाई अनुमोदन गरेको होइन र ? माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाएर संविधान सभाको पहिलो बैठकबाट नेपाललाई गणतान्त्रिक मूलुक बनाएको होइन र ? यी सब आम जनताले नै राजीखुशी अनुमोदन गरिसकेपछि प्रचण्ड कसरी १७ हजार मानिसको हत्यारा भए त ?
आज प्रचण्ड गम्भीर शोकमा छन् । प्रचण्डलाई पाप लाग्यो रे ! होइन, यो नेपालमा प्रचण्डका बाहेक अरू कसैका सन्तान मरेका छैनन् र ? प्रचण्डका बाहेक अरू कसैका श्रीमती मरेका छैनन् र ? प्रचण्डमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू बारे कि त प्रचण्ड आफैलाई थाहा होला कि त प्रचण्ड आफैले मान्ने भगवानलाई थाहा होला । तर, १७ हजार मानिस मारिएको बारे फेरी दोहो¥याउन चाहन्छु, यसको मुख्य कारण देशमा गणतन्त्र स्थापित गर्नु थियो । त्यो आम नेपाली जनताले नै संविधान सभाको चुनावमार्फत माओवादीलाई नै मतदान गरेर संविधान सभाको पहिलो वैठकबाट अनुमोदन गरिएको हुँदा त्यो कथित १७ हजार मारिएको जिम्मा पनि आम नेपालीहरूले नै लिइसकेका छन् ।
पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री भएपछि ठूला–ठूला भ्रष्टाचारका फाइलहरू खोलिएका छन् । पूर्व उपप्रधानमन्त्रीदेखि, पूर्वमन्त्री र बहालवाला सचिवहरूलगायत कयौँ मानिसहरू पक्राउ परेका छन् । र, थप पक्राउ पर्नेवाला छन् । भ्रष्टाचारको मामिलामा यस्तो धरपकड इतिहासकै यो पहिलो हो ।
१८ देखि २२ घण्टासम्म देशलाई अन्धकारमा राखेको अवस्थामा कुलमान जस्तो एउटा दक्ष र कुशल व्यक्तिलाई विद्युतको महानिर्देशक बनाएर उर्जा क्षेत्रमा कायापलट भएको छ, प्रचण्ड कै नेतृत्वमा । यो सब कार्य प्रचण्डले नगरेर ओली अथवा रवीहरुले गरेको भए आज माहोल कस्तो हुन्थ्यो होला ? नेपाली जनता यति धेरै स्वार्थी किन ?
प्रचण्डले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रमाउने, प्रचण्डले लडेर ल्याएको समानुपातिक तथा समावेशीताको लाभ उठाउँदै मुलुकको नेतृत्व तहमा समेत पुग्ने तर, प्रचण्डमाथि सधैँ नाजायज प्रश्न उठाइरहने ? के प्रचण्डले नलडिदिएको भए, मुलुक अहिलेको अवस्थामा पुग्थ्यो ? के प्रचण्ड मर्न तयार नभएको भए, जनताले यति अधिकार पाउँथे ? अनि अनर्गल प्रश्न केका लागि ?
वि.सं.२०८० असार २९ शुक्रवार १८:१३ मा प्रकाशित






























