काठमाडौं । जीवन बीमा क्षेत्रप्रति आकर्षण घटेको देखिएको छ । बीमा कम्पनीहरुको गरेको व्यवसायलाई हेर्दा यस्तो देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमा शुल्क करिब २५ प्रतिशतले कम भएको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क (प्रिमियम) २४.७२ प्रतिशतले घट्न पुगेको छ । बीमा कम्पनीहरुले गत आवमा ३१ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्कबापत संकलन गरेका छन् । जबकी अघिल्लो आवमा कम्पनीहरुले ४१ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गर्न सफल भएका थिए ।
हाल नेपालमा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क घटेका छन् । सबैभन्दा धेरै प्रथम बीमाशुल्क घट्नेमा भर्खरै मर्जरपश्चात एकिकृत कारोबार गरेको प्रभु महालक्ष्मी लाइफ रहेको छ । अघिल्लो आर्थिक वर्षमा साविक प्रभु र महालक्ष्मी लाइफले प्रथम बीमाशुल्क वापत २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको थियो । तर अहिलो त्यस्तो बीमाशुल्क ५०.३८ प्रतिशतले घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको हो ।
यसअघिका वर्षमा जस्तै सबैभन्दा बढी बीमा शुल्क उठाउनेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेकाे देखिन्छ । नेपाल लाइफले गत आवमा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । तथापी, जुन अघिल्लो आवको तुलनामा १०.८७ प्रतिशतले कम हो ।
त्यस्तै, गत आवमा सबैभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्नेको दोस्रोमा नेशनल लाइफ, तेस्रोमा सूर्यज्योति, चौथोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र पाँचौंमा हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये सूर्यज्योति र हिमालयन लाइफ मर्जरमा गएका कम्पनी हुन् ।
साविकका प्राइम गुराँस र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफको प्रथम बीमा शुल्क अधिक धेरैले घट्न पुगेको छ । हिमालयन लाईफकाे अघिल्लो आवको तुलनामा ४८.३७ प्रतिशतले कमी आएकाे छ ।
राष्ट्रिय बीमा संस्थानको व्यवसाय भने सबैभन्दा स्थिर देखिएको छ । समीक्षा अवधिमा संस्थानको बीमाशुल्क १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा संस्थानले ९६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

वि.सं.२०८० साउन ११ बिहीवार १२:१३ मा प्रकाशित






























