काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन माओवादी केन्द्रको तर्फबाट सभामुख बनेका बाबुराम गौतमले राजीनामा दिने भएका छन् । सरकार गठनमै सकस देखिएपछि केन्द्रमा सत्ता सहकार्य गरिरहेका गठबन्धनबीचको सहमतिअनुरुप गौतमले राजीनामा दिन लागेका हुन् ।
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले गौतमले राजीनामा दिने सहमति भएको बताए । गौतमले राजीनामा दिएसँगै पुनः कांग्रेसको नेतृत्वमा सरकार गठनको लागि दाबी पेश गर्ने सहमति भएको आङ्बोले जनाएका छन् ।
उनले भनेका छन्, “सभामुखले राजीनामा दिने सहमति भएको छ, उहाँले राजीनामा दिएसँगै बहुमत जुट्छ, अहिलेलाई सरकारको नेतृत्व उद्धव थापाले नै गर्नुहुन्छ ।”
सरकार नै नबन्ने अवस्था सिर्जना भएपछि बाध्यात्मकरुपमा सभामुखले राजीनामा दिएको उनले बताए । सत्तामा आलोपालो वा आगामी सभामुखलगायतका विषयमा सहमति नभइसकेको आङ्बोले जनाएका छन् ।
नयाँ सरकार गठनका लागि सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ पाँच बजेसम्मको समयसीमा दिएका छन् । उक्त अवधिभित्र दलहरुले दाबी पेश गर्ने तयारी गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यकता पर्दछ । प्रदेशसभाभित्र नेपाली कांग्रेससँग २९, माओवादी केन्द्रसँग सभामुखसहित १३, एकीकृत समाजवादीसँग चार र जनता समाजवादीसँग एक सांसद छन् । सभामुखले राजीनामा दिएसँगै गठबन्धनको ४७ सांसदको समर्थन जुट्छ । जुन बहुमत हो । प्रदेशसभामा एमालेसँग ४० र राप्रपासँग ६ सांसद छन् ।
यसअघि कांग्रेस–माओवादी गठबन्धनले सभामुखलाई समेत हस्ताक्षर गर्न लगाएर बहुमत जुटाएका थिए । तर, सर्वोच्चले सभामुखको भूमिका तटस्थ हुने भन्दै जुटाइएको बहुमत बदर गरिदिएको थियो । सर्वोच्चले सभामुखलाई समेत देखाएर जुटाइएको बहुमत बदर गरिदिएपछि प्रदेशमा सरकार गठनका लागि पुनः आह्वान भएको हो ।
वि.सं.२०८० साउन १६ मंगलवार १२:१५ मा प्रकाशित






























