back
CTIZAN AD

अव्यवस्थित सडक विकासले बर्खामा सकस, अवरुद्ध सडक अब असोज लागेपछि मात्रै खुल्ने

वि.सं.२०८० साउन २३ मंगलवार

1.3K 

shares

ढोरपाटन । बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिङ्गो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्द नै छन् । वर्षाका कारण पहिराले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्नेछन् ।

कतिपय सडक पहिराले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन् । धेरैजसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले नै अवरुद्ध गरेका छन् । ग्रामीण सडक त अवरुद्ध छँदै थिए, समय–समयमा शाखा सडकबाट आउने भेल र बाढीले राष्ट्रिय लोकमार्ग पनि अवरुद्ध हुँदै आएको छ । अव्यवस्थित र वातावरणीय प्रभाव मूल्याङ्कन बिना निर्माण भएका शाखा सडकले राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ सवारी साधन र हजारौँ यात्रु बेला–बेला अलपत्र पर्दै आएका छन् । ग्रामीण सडक सञ्चालन नहुँदा जनजीवन नै कष्टकर हुँदै आएको छ ।

निसीखोला गाउँपालिका–४ ओखरेनीमा केही वर्ष अगाडि मोटरबाटो पुग्यो । मोटरबाटोले स्थानीयवासीलाई सहज त बनायो तर बर्खामा धेरैलाई उठिबाससमेत लगाएको छ । ओखरेनी गाउँमा पुगेको मोटरबाटोले सोही गाउँको विभिन्न टोल चिनारे गाउँ नै पहिराको उच्च जोखिममा परेको छ । हरेक वर्ष गाउँका दर्जन घर पहिराको जोखिममा पर्ने गरेका छन् । हिउँदमा जसोतसो गाडी चले पनि बर्खा लाग्नासाथ कच्ची भू–भागका कारण यातायात ठप्प हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिना सडक निर्माण गर्दा गाउँ नै पहिराको जोखिममा परेको स्थानीयवासीको गुनासो थियो । गाउँमा पुगेको उक्त सडकबाट भलसहितको लेदोले मध्यपहाडी लोकमार्गको धरमशाला कालापैरामा दिनदिनै सडक अवरुद्ध गराउँदै आएको छ ।

पानी पर्नेबित्तिकै माथिदेखि भल आएर एकै छिनमा सडक पुरीदिँदा लोकमार्ग अवरुद्ध हुने गरेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले बताए । बर्खा लागेदेखि थापागाउँ, बडाचौरलगायत गाउँका सडक बन्द रहेको उनको भनाइ थियो । अब नयाँ सडक निर्माण गर्न रोकेर पुरानालाई स्तरोन्नति गर्ने गरी योजना बनाइएको उनले बताए । धेरै सडक निर्माण गर्दा बस्तीसँगै पर्यावरणमा असर पुग्ने भन्दै अब सडक दीर्घकालीन रुपमा चल्ने गरी निर्माण गरिने उनले उल्लेख गरे ।

“स्थानीय तह अगाडि कुनै पनि गाउँमा सडक पुगेका थिएनन्, पालिकाले सबै ठाउँमा सडक पुर्याउने योजना बनाएको थियो, सोहीअनुसार धेरै गाउँमा सडक पुगे, अहिले मोटरबाटो नपुगेको कुनै पनि गाउँ छैन,” अध्यक्ष पौडेलले भने, “धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ ।”

जिल्लाको तमानखोला गाउँपालिकाका सबै ग्रामीण सडक असारदेखि नै ठप्प छन् । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म चल्ने सडक नियमित चले पनि अन्य सडक बन्द छन् । बडिगाड, ढोरपाटन, गलकोटलगायत ठाउँका ग्रामीण सडक पनि बर्खामा चल्दैनन् । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण ग्रामीण र मुख्य सडक क्षतविक्षत हुँदै गएको स्थानीयवासी प्रेमबहादुर पुनले बताए ।

पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण बर्खामा सडक सञ्चालन हुन नसक्ने उनकोे भनाइ थियो । “काम परेर बजार जान प¥यो भने दुई÷तीन ठाउँ गाडी परिवर्तन गर्नुपर्छ, गाउँतिर निकै समस्या हुन्छ, पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ, यात्रा गर्न निकै गाह्रो,” स्थानीयवासी पुनले भने, “बर्खामा सबैभन्दा धेरै पहिरो सडकमै जाने गरेको छ, सडक खन्ने बेला नाप जाँच गरेर निर्माण गरेको भए, बर्खामा यस्तो समस्या आउने थिएन, हामी भुइँ मान्छेको कुरा कसैले सुन्दैनन् ।”

बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक खन्ने होडबाजीका कारण पहिराको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्या केही समाधान हुने स्थानीयवासी तिलबहादु घर्तीले बताए ।

उनले गाउँ–गाउँमा निर्माण भएका सडक निकै साँघुरा र दुर्घटना नित्याउने खालका भएको छ भने । नयाँ सडक खोल्नका लागि सरोकारवाला निकायले चासो दिएको स्थानीयवासी घर्तीले गुनासो गरे । उनले भने, “बाटो अलि फराकिलो बनाउनुपर्छ, गाउँ–गाउँमा पुगेर हेर्ने हो भने त्यहाँ बनेका सडकमा मोटरसाइकल पनि गुड्दैनन्, गाडी गुड्ने त कुरै भएन, हिउँदमा बाटो खन्छन्, बर्खामा बगाउँछ, विकास दीर्घकालीन हुन सकेको छैन, जहाँ पनि बाटो मात्रै खनेको देखिन्छ, अरू विकास कम भएको पाइन्छ ।” file photo

वि.सं.२०८० साउन २३ मंगलवार १३:०१ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...