काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा स्थापित एनआरएनए फाउण्डेसनको अध्यक्षमा एनआरएनएका संस्थापक रामप्रताप थापा नियुक्त भएका छन् ।
फाउन्डेशनको बिहीवार बसेको बैठकले जर्मनी निवासी थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बैठकमा उनलाई अध्यक्ष बनाउनका लागि गरिएको प्रस्ताव बहुमतले पारित भएको बताइएको छ । यसअघि एनआरएनएका पूर्वअध्यक्ष तथा फाउन्डेशनका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा तीनवर्ष अगाडि फाउन्डेशनको स्थापना गरिएको थियो । लामिछानेले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।
विश्वभरी छरिएर रहेका नेपाली तथा गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुको परोपकारी कामलाई एकिकृत तथा प्रभावकारी रुपले अगाडि बढाउन तीनवर्ष अघि फाउन्डेशनको स्थापना गरिएको थियो । उक्त फाउन्डेशन मार्फत् एनआरएनएले नेपालमा विविध क्षेत्रमा परोपकारी कामहरु ग्र्दै आएको छ ।
वि.सं.२०८० साउन २८ आइतवार १३:३९ मा प्रकाशित






























