ऋषिराम सापकोटा ‘अविरल’
कल्पना पौडेल ‘जिज्ञासु’ को पाँचौं कृतिको रुपमा प्रकाशित कथासङ्ग्रह कचहरी भर्खरै नेपालगन्जको महेन्द्र पुस्तकालयमा विमोचित भएकोछ । नेपाली भाषा साहित्यको विकाश र समाजको दर्पणको रुपमा निरन्तर कलम चलाउँदै समाजको रुपान्तरको लागि साहित्य सिर्जना गर्ने सर्जकलाई साधुवाद छ ।
कल्पना पौडेल ’जिज्ञासु’ले २०६९ सालमा पहिलो कृति भावनाका भेलहरु गजलसङ्ग्रह प्रकाशन गरेर आफ्नो साहित्तिक यात्रा प्रारम्भ गरेको पाईन्छ । २०७१ सालमा दोस्रो कृति जूनहराएको रात गजलसङ्ग्रह, २०७७ सालमा तेस्रो कृति विद्रोहका तरंग मुक्तकसङ्ग्रह विधाबाट समाजका विकृति, विसंगति, अन्याय, अत्याचार, माया प्रेम र महिलाका पीडाहरुलाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै समाज सुधारका पाटापक्षहरुलाई समेत काव्यात्मक शैलीमा व्यक्त गर्न सफल ’जिज्ञासु’ गजल र मुक्तक विधाको क्षेत्रमा स्थापित भएको पाईन्छ ।
बहुविधामा कलम चलाउन रुचाउन ‘जिज्ञासु’ ले काव्य विधाबाट आख्यान विधातर्फ कलम चलाउन सुरु गरेर आख्यान तर्फको पहिलो नीतिकथा सङ्ग्रह ’कल्पदीप’ को प्रकाशन २०७९ सालमा गर्नु भएको थियो । हाम्रो समाजमा हराउँदै गएको नैतिकतालाई जोगाइराख्नको लागि विद्यालय स्तरका वालवालिकाहरुले अत्यन्तै रुचाउने खालका सरल, सरस र सकारात्मक संदेश दिने खालका नीतिकथाहरु यस सङ्ग्रहमा समेटिएको पाईन्छ ।
पछिल्लो समयमा आख्यान विधाबाट सामाजिक समस्याहरुलाई उजागर गर्दै समाज रुपान्तरणंको लागि कलम चलाईरहेको कृयाशील नारी स्रस्टा कल्पना पौडेल जिज्ञासुको पाँचौ कृतिको रुपमा कचहरी कथासङ्ग्रह विद्या विकाश पब्लिकेशनले प्रकाशन गरी बजारमा ल्याएको छ । उक्त कृति त्रिभुवन विश्व विद्यालयका पुर्व नेपाली भाषा विभाग प्रमुख तथा लुम्विनी प्राबिधिक विश्वविद्यालय विकाश आयोगका सदस्य प्रा डा कृष्ण प्रसाद घिमिरे,वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, हिमालय टाइम्सका वरिष्ठ पत्रकार भरत दाहाल, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा सदस्य शशिराम कार्की, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति तथा साहित्यकार डा इन्द्रवहादुर भण्डारी लगायतको विशेष उपस्थितिमा विमोचन भएको छ ।
सामाजिक विषयवस्तुलाई मूख्य आधार बनाएर लेखिएका पन्द्र ओटै कथाहरु समाजको यथार्थ चित्रण गर्न सफल भएको कुरा यस कथासङ्ग्रहलाई शुभकामनाका शव्दहरु कोरिदिने नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राई,वरिष्ठ कथाकार सनत रेग्मी र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा इन्द्रवहादुर भण्डारीहरुको भनाइबाट प्रस्ट हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई कृतिकारको बारेमा भन्नु हुन्छ ‘बहुबिधामा कलम चलाउन सक्ने स्रस्टाका रुपमा आफ्नो पहिचान बनाइ सक्नु भएकी कल्पना पौडेल “जिज्ञासु“ को कचहरी कथा सङ्ग्रहमा समेटिएका पन्ध्रवटै कथाहरु सामाजिक विषयवस्तुमा केन्द्रित रहेकोले पाठकका लागि रुचिकर हुने कुरामा विस्वस्तछु ।’
वरिष्ठ कथाकार सनत रेग्मी कृतिकारको बारेमा भन्नु हुन्छ ‘साहित्यमा क्रियाशील कल्पना पौडेल ’जिज्ञासु’ प्रगतिशील बिचारको जागरुक महिला हुनुहुन्छ ।’ उहाँको पाँचौ कृति कचहरी कथासङ्ग्रहमा किनाराकृत र गरिवीको रेखामुनी रहेका पात्रहरुका माध्यबाट समाजको यथार्थ चित्रण गरेको पाईन्छ । उहाँको कथा लेखन शैलीमा सचेत प्रगतिशीलता छ । जिज्ञासुको भाषा मीठो र चोखो छ । उनले आयातित भन्दा झर्रो नेपाली शव्दहरुको सौन्दर्यात्मक तरिकाले यथेष्ट प्रयोग गर्नु भएको छ । यसले गर्दा उहाँको प्रचुर लेखन क्षमता छ भन्ने देखिन्छ ।’
खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा इन्द्रवहादुर भण्डारीको कचहरी माथिको दृष्टिकोण यस्तो रहेको छ । ‘साहित्यमा आफ्नै प्रकारको विचार प्रवाह गर्न रुचाउने कल्पनाको यो पछिल्लो कृति कचहरीमा समावेश भएका कथाहरुले एकातिर मानवीय समवेदना बोकेका छन् भने अर्कोतिर वर्तमान समयको यथार्थलाई प्रस्तुत गरेका छन् । यसमा भएका कथाहरु सचेत पाठकको लागि पठनीय, समालोचकका लागि समालोच्य हुनाका साथै नयाँ पाठकका लागि रोचक र ज्ञानवर्धक छन् ।
कथाको पाण्डुलिपि पढेर प्राप्त भएका शुभकामना सहित कृति माथि गरिएको विश्लेषणलाई नियाल्दा ‘जिज्ञासुको यो पछिल्लो कृतिमा समाजमा घटेका यथार्थ घटनाहरुमा केन्द्रित विषयवस्तुहरुलाई उठान गरिएकोले कथाहरु सचेत पाठकहरुको लागि रुचिकर, पठनीय, वोधगम्य भएको कुरालाई सहज अनुमान गर्न सकिन्छ ।
कचहरी कथासङ्ग्रह विमोचित हुँदै गर्दा वक्ताहरुबाट कथाको खुलेर परीचर्चा गरिएको थियो । कचहरी माथि प्रकाश पार्ने प्रमुख वक्ता ज्ञानोदय पव्लिक क्याम्पस खजुरा बाँकेकी क्याम्पस प्रमुख तथा समालोचक चरित्रा शाहले यस कथा सङ्ग्रहभित्र रहेका पन्ध्रवटै कथा माथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो । चरित्रा शाहका अनुसार पहिलो कथा ‘वकसपत्र’ मा बृद्धवृद्धा भएका बाबुआमाहरु आफुले जन्माई हुर्काइ आफ्नै खुट्टामा उभिन सक्ने बनाएका सन्तानहरुबाट उपेक्षित र उत्पीडित भई असक्त अवस्थामा सेवा आश्रममा जानुपर्ने वाध्यात्मक अवस्थालाई कथाको विषयवस्तु बनाइएको छ । जून वर्तमान नेपाली समाजको विकृत स्वरूप उठान गरिएको छ । यो कथा पाठकहरुको मन छुन सफल छ ।
दोस्रो कथा ’मनकुमारी’ देशमा रहेको गरिवी र वेरोजगारीका कारण महिलाहरु विदेशमा जान वाध्य भएको दलाल र ठगहरुबाट विदेशमा गएर ठगिएको, लुटिएको, उत्पीडनलाई मुखरित गरिएको छ । समस्याहरुलाई छिचोल्दै नेपाली महिलाहरु पीडाको पाहाडलाई पन्छाएर दलाल र ठगहरुलाई कानुनि कठघरामा उभ्याएर नारी ससक्तालाई यो कथाले मुखरित गरेको छ ।
तेस्रो कथा ’कचहरी’ यो शिर्षक कथा पनि हो । यस कथामा ऐतिहासिक न्याय प्रणाली र आधुनिक न्यायालय दुवैले गरिव निमुखा पहुच र सोर्सफोर्स नभएकाहरु न्याय पाउन नसकेको, उतिबेलाको कचहरीबाट उत्पीडित उर्वसी दिदी र अहिलेको न्यायालयबाट मरेपछिपनि छिटो छरितो न्याय पाउन नसकेकी कोयल पात्रका माध्यमबाट न्यायलय विचौलियाबाट प्रभावित हुने गरेको तथ्यलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
’प्रतिशोध’ चौथो कथामा नेपाली छोरी चेलीहरुलाई आफन्त र नेपाली दलालहरुको फन्दामा परेर विदेशमा बेचिनु परेको, भारतको कोठरीमा भोग्नुपरेको कारुणिक पीडाहरुलाई विषयवस्तु बनाएर लेखिएको यो कथा मिना पात्र पुनः आफ्नो स्वदेश फर्किन सफल भएको र आफुलाई बेच्ने दलाललाई समाजको अगाडी उभ्याएर कानुनको जिम्मा लगाउन प्रतिसोध लिन सफल भएकोले यस कथामा अत्यमा नारीलाई ससक्त तुल्याइएको छ ।
पाँचौ कथा ’अठोट’ मा गरिवी रोग र भोकले पिल्सिएकी महिलाले आफ्ना सन्तानको भोक मेटाउन सानो गल्तिको कारण कानुनि फन्दामा परेको,ठुला ठुला भ्रष्टअपराधीहरुलाई कानुनले पनि छुन नसक्ने गरिव र निमुखाहरु मात्र कानुनको फन्दामा परेको नेपाली समाजको यथार्थ चित्रण यस कथाले गरेको छ ।
छैठौं कथा ’प्रतिकार’ मा वालिकाहरुलाई बिभिन्न प्रभोलनमा पारेर फकाइफुल्याई यौन दुराचार गर्ने वेविचारी अपराधीहरु पनि हाम्रो गाउँ समाजमा रहेको कुरालाई विषयवस्तु बनाइएकोछ । आमा बाबुको छोराछोरीलाई गरिने असल परामर्सका कारण छोरीहरु आफै त्यस्ता दुष्टहरुको फन्दाबाट प्रतिकार गर्न सक्ने कुरालाई समेत समेटिएकोले महिला तथा छोरीहरुलाई ससक्त बनाउन खोजिएको छ । एउटा व्यक्तिले दिएको अपराधले त्यसको परिवारलाई हुने पीडालाई समेत दर्शाएको छ ।
सातौं कथा ’जीवन आधार’ मा वालवालिकाले सानै उमेरमा बाबुआमा गुमाउनुपरेको पीडा, सानै उमेरमा हुने अनमेल विवाह, सन्तान उत्पादन ,साहुको ऋणले थिचिएको परिवार त्यसमा पनि बैदेशिक रोजगारमा जाँदा श्रीमानको मृत्यु त्यसले परिवारले भोग्नुपरेको पीडा जस्ता सामाजिक परिघटनाहरुलाई समावेश गरिएको छ । समयमै बचत र सुरक्षाको लागि जीवन विमा उक्त परिवारको आधार बनेको कुरालाई समेत यो कथाले समेटेको छ ।
आठौं कथा ‘अन्तरमनको संसार’ मा मानिसले गर्ने काल्पनिक संसार वा प्रेम र वास्तविक संसार वा प्रेममा भएको अन्तरलाई उल्लेख गरिएको छ । कल्पनाको संसार र वास्तविक संसारको तालमेल नमिल्दा पैदा हुने विधिप्तता र मनोदशालाई यस कथाले समेटेको छ ।
नवौं कथा ’पुनर्विवाह“ मा हाम्रो समाजमा रहेका सामन्ती ठुलावडा बाट कसरि एउटा परिवारलाई साँवा र व्याजबाट उठिवास लगाइन्छ । पहाडी समुदाय र मधिसेसमुदाय विचको सद्भाव, भाइचारा सम्बन्ध, मधेशी समुदायकी वाल विधवाले घरपरिवार र समाजबाट खेप्नुपरेको सास्ती,पहाडी समुदायका अविवाहित पुरुषले घरको सल्लाहमा मधेसी विधुवा महिला संग गरेको पुनर्विवाहलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
दशौं कथा ‘मातृत्व’ मा प्राकृतिक प्रकोप भूकम्प र कोरोना महामारीबाट आफ्ना श्रीमान र छोराछोरी गुमाएर विछिप्त भएकी नारीको पीडालाई कथा बनाइएको छ । आफ्नो मातृत्व रित्याउन नपाएपछीको पीडादायक अवस्था, पुनर्विवाहबाट पनि आमा बन्न नसक्दाको मनोदशा अनाथ छोरीलाई मातृत्व पोख्न पाउदा एक आमामा छचल्किएको खुसीलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
एघारौ कथा ’रामजी’ मा रामजी पात्रको माध्ययमबाट स्वदेशबाट भारतमा गएर जुठा भाँडा माझेर भाइलाई पढाएको, विदेश पठाएको घरको गरिवी अभावबाट मुक्त गर्दा समेत पछी उसैलाई भाइ आमाबाट उपेक्षा गरेको पछी गएर जो हेला उसैको फेला भन्ने नेपाली उखानलाइ चरितार्थ गराउन यो कथा सफल रहेको छ ।
बाह्रौं कथा ‘रजनीको प्रेम’ यो कथासङ्ग्रहमा रहेका अधिकाश कथाहरु सामाजिक विषयवस्तुमा आधारित छन् । यो कथाले पनि समाजको यथार्थ चित्रण गर्न सफल छ । यसमा माया प्रेमसंग धन दौलतको तुलना हुदैन भन्ने कुरालाई मुखरित गर्दै घरको ऋण तिर्न सन्तानलाई राम्रो शिक्षा दीक्षा दिने सपना बुनेर दुधे बालकलाइ निदाएको बेलामा छोडेर भक्कानिदै वैदेशिक यात्रामा जानु परेको नेपाली नारीको यथार्थ चित्र छ । बैदेशिक रोजगारमा खेप्नु परेका पीडा दुख कष्टकर काम गरेर पठाएको पैसाबाट पुरुषले गर्ने गरेको भोग विलास, आफु नेपाल आउदा आफुलाई अति माया गर्ने श्रीमानले गरेको उपेक्षा, शंका र पुरुषले आफुले गरेको कुकृत्यको फल भोग्नुपरेको कुरालाई यथार्थ चित्रण गरिएको छ ।
तेह्रौ कथा ‘समाजलाई चुनौती’ मा माया प्रेम भनेको जवानीमा मात्र हुदैन एकल पुरुषले मात्र दोस्रो विवाह होइन नातिनातिना भएको एकल महिलाले बिदुर पुरुष संग पुनर्विवाह गरेर महिला मात्र श्रीमानको घरमा जानुपर्छ भन्ने समाजको मान्यतालाई चिर्दै आफ्नो घरमा पनि महिलाले आफ्नो बाकीं जिन्दगिलाई सार्थक बनाएको कुरालाई कथाको बिषय बस्तु बनाइएको छ ।
चौधौ कथा’ मृत्युको प्रखाई’ मा सामाजिक परिघटनालाई चराचुरुङ्गीलाइ प्रतीकात्मक बनाएर प्रस्तुत गरिएको छ । यस कथामा घरपरिवारलाई चारो जुटाउन आफ्नो भाले र वचेराहरुलाई समेत गुडमा छोडेर निकै टाढाको जंगलमा जान परेको, चारोको जोहो गरेर पठाउने गरेको आफु फर्केर आउदा भाले चरो अर्को पोथीसँग रमेको वचेराहरुको दिमाखमा पोथी प्रति बिष घोली दिएकोले कोमल मातृत्वमा आफुले औधि माया गर्ने भाले र वचेरा वचेरीबाट आधात पुगेको कुरालाई प्रतीकात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।
पन्ध्रौ कथा ‘फातिमा’ कथा फातिमामा मधेशी मुस्लिम समुदायमा जमिन्दारहरुले समेत छोरीलाई घर धन्दा र चुलो चौकाको काम मात्र जिम्मा लगाउने गरेको सामाजिक यथार्थलाई चित्रण गरिएको छ । छोरीहरु पनि आफ्नै वलबुताले पढेर, व्यवसाय गरेर, अपांग लोग्ने र घरपरिवार र समाजको लागि केहि गर्न सक्छन भन्ने कुरालाई यो कथामा प्रस्तुत गरिएको छ ।
साहित्यकारहरु हरि तिमिल्सिना, किरण आचार्य, खगेन्द्र गिरि ’कोपिला’ लेकप्रसाद प्याकुरेल, मणि अर्याल, पंकज श्रेष्ठ, वलराम यादवले जिज्ञासुको कथासङ्ग्रह कचहरी माथि टिप्पणी गर्नु भएको थियो । कथाहरु सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएकोले समाजको यथार्थ चित्रण गर्न सफल भएको जुनसुकै कथाले पनि पाठकको मन छुन सक्ने र भाषा शैली सरल र सरस भएकोले कथाहरु पठनीय र बोधगम्य भएको प्रतिक्रिया प्राप्त भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य शशिराम कार्कीको टिप्पणी अनुसार जिज्ञासुका कथाहरु आफुले सबै पढेको यो कथा कचहरी अघिल्लो कथासङ्ग्रह ’कल्पदीप’ भन्दा निकै उत्कृष्ट रहेको, बाँके जिल्लाका नाम चलेका कथाकार नयनराज पाण्डे, सनत रेग्मी डा. इन्द्रवहादुर भण्डारीको कथाहरुको हाराहारीमा यो कथा कचहरी रहेको कुरा आफ्नो मन्तव्यको क्रममा राख्नु भएको थियो । समाजको यथार्थ चित्रण गर्न सफल कथाहरुमा भाषा शैली पनि त्यत्तिकै सरस भएकोले आफुले लगभग एकैदिनमा सवै कथाहरु पढेको हुँदा पाठकहरुको पनि मन जित्न सफल हुने कुराको विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्राबिधिक विश्वविद्यालय विकास आयोग सदस्य प्रा डा कृष्ण प्रसाद घिमिरेले कचहरी कथासङ्ग्रह माथि गर्नु भएको टिप्पणी अनुसार कचहरी भित्रका एक दुइ कथा पढ्ने उदेश्य लिएर पढ्न सुरु गरेको तर एकपछी अर्को कथाहरुले आफ्नो मन तान्न सफल भएकोले एकै दिनमा पन्ध्र ओटै कथाहरु पढेर सकेकोले कथाहरु पठनीय र पाठकहरुको मन जित्न सफल हुने कुराको विश्वास व्यक्त गर्नु भएको थियो । सवै कथाहरुले हाम्रो समाजको यथार्थलाई उजागर गर्न सफल भएको पात्रहरुको माध्यमबाट समाजमा कुकिर्त्य गर्नेहरु पश्च्यातापको भुमरीमा मडारिएको, कानुनी फन्दामा परेको र राम्रो काम गर्ने असल पात्रहरु अन्त्यमा सवल बनाइएकोले कथाहरु प्रगतिशिलतालाई पछ्याउदै समाज रुपान्तरणको लागि कोशेढुंगा सावित हुने कुरामा आफु विस्वस्त रहेको विचार प्रस्तुत गर्नु भएको थियो ।
म पनि त्यस कार्यक्रमको श्रोता भएको र कल्पना पौडेल ’जिज्ञासुका कथाहरुको पाठक समेत भएकोले उनले प्रकाशन गरेको यो पाँचौ कृति कचहरी कथासङ्ग्रह एक उत्कृष्ट आख्यानविधाको रुपमा बजारमा आएको छ । कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल छन् । आफ्नै सन्ततिबाट पाएको पीडाले सेवा आश्रमको आश्रय लिनुपर्ने कारुणिक यथार्थता, गरिवी र अभावका कारण महिलाहरु समेत वैदेशिक रोजगारमा जान वाध्य भएको त्यहाँ पनि उनीहरु लुटिएको, ठगिएको पीडाहरुलाई समेटिएको छ । नेपालको एतिहासिक न्यायप्रणाली कचहरी र वर्तमान न्यायप्रणाली न्यायालयको यथार्थ चित्रण गरिएको छ । नेपाली छोरी चेलीहरु आफ्नै गाउँघरका छरछिमेकहरुबाट झुटो प्रेमजालमा फसाएर विदेशमा वेचिन पुगेको बलत्कृत हुँन परेको कारुणिक कथाहरुलाई यसमा समेटिएको छ । सानालाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ ।
वालवालिकाहरुले सानै उमेरमा बाबुआमा गुमाउनुपरेको पीडा, समयमै गरिएको वचतबाट जीवनमा हुने आर्थिक र सामाजिक सुरक्षा, काल्पनिक प्रेम र बास्तविक प्रेममा हुने अन्तरलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ । समाजमा रहेका सुतखोरहरुबाट परिवारहरुमा हुने विचल्ली, मधेसी र पहाडी समुदायको विचमा रहेको सद्भाव सासुबाट बुहारी प्रति गरिने दुर्व्यवहार जस्ता कुराहरुलाई कथाहरुमा समेटिएको छ ।
भूकम्प र कोरोना जस्ता महामारीले मानव जीवनमा पारेको विचल्ली श्रीमान र सन्तान सर्वस्व गुमाएपछी एक महिलाको मनोदशा स प्रेम गरिने पुनर्विवाह, जो हेला उसैको फेला भन्ने नेपाली उखानलाई पुस्टि गर्ने कथाहरु कलात्मक ढंगबाट बुनिएको छ । नेपाली नारीले आफ्नो श्रीमान र सन्तानको लागि स्वदेश र विदेशमा गरेको संघर्ष, आफ्नैंबाट भोग्नुपरेको धोका तिरस्कारहरुलाई समेत कथाका विषयवस्तुमा समेटिएको छ । हाम्रो समाजमा छोरा र छोरीमा गरिने विभेदको अन्त्य छोरी पढाउ अभियान, नारी शसक्तिकरण, अपराधीहरुलाई दण्डसजाय, असल पात्रको विजय र खराव पात्रको पराजयले कथाहरु प्रगतिवादी, यथार्थवादी र नारीवादी छन् । जसले समाज रुपान्तरंको सन्देशलाई बोकेका छन् । भाषा शैलीमा रहेको आन्चलिकता र झर्रो नेपालीपनले गर्दा विषयवस्तु र भाषा शैली दुवै हिसाबले कथाहरु पठनीय र बोधगम्य भइ पाठकहरुको मन जित्न सक्ने कुरामा मेरो पनि ठम्याई रहेको छ ।
वि.सं.२०८० भदौ १२ मंगलवार १७:१६ मा प्रकाशित






























