काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ने.का. काठमान्डौ ७ का क्षेत्रिय सभापतिसमेत रहेका रिजालको बिहिबार उपचारका क्रममा निधन भएको हो ।
उच्च ज्वरो र निमोनियाको संक्रमणका कारण धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका रिजालको बिहिबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए ।
रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो ।
रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । काठमाडौं १६, बालाजुमा बसोबास रहेको रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।
वि.सं.२०८० भदौ २१ बिहीवार १०:०० मा प्रकाशित






























