काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन् ।
क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।
आईपीओको नतिजा ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले भदौ १० देखि भदै १३ सम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसको छ ।
माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।
वि.सं.२०८० भदौ २४ आइतवार ११:२९ मा प्रकाशित




























