काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।
अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
‘एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल-अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी-नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्नुहुने भएको छ’, अमेरिकी दूतावासले भनेको छ ।
दूतावासका अनुसार भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न एवम् कम्प्याक्टका लाभहरू नेपालीहरूसम्म पुर्याउन एमसीसी दृढ साझेदारका रूपमा रहने प्रतिबद्धतामाथि जोड दिने दूतावासको भनाइ छ ।
एलिसले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।
वि.सं.२०८० असोज १२ शुक्रवार ११:५१ मा प्रकाशित






























