back

जिज्ञासुको मुक्तक सङ्ग्रह ‘ज्वालामुखी’

वि.सं.२०८० असोज २३ मंगलवार

513 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

आँचल कुमार शर्मा, काठमाडौं

साहित्य परिषद नवलपरासीद्वारा प्रकाशित गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँ वितरक रहेको समस्त पाठकवर्गमा सद्भावरूपी शब्दगुच्छाहरू समर्पण गरिएको रिब्दिकोट पाल्पामा जन्मिनुभई हाल काठमाडौँमा बस्दै आउनुभएका मृदुभाषी जिज्ञासु पौडेल तिलकको मुक्तक सङ्ग्रह ‘ज्वालामुखी’ प्राप्त भएको छ ।

‘चाहे धरतीमा होस् या फेरि मनमा होस्; सुषुप्त रूपमा एक शक्तिशाली ज्वालामुखी अवस्थित हुन्छ जो अत्याधिक चाप भएपश्चात् विस्फोट भएर बाहिर निस्कने गर्दछ ।’ साहित्य समाजको दर्पण हो, जसले समाजलाई दिशाबोध गर्ने गर्दछ । निश्चयपनि कृतिकारको सोच र मनोभावनाहरू साहित्यमार्फत समाजलाई प्रतिबिम्बित गर्ने उद्देश्यले ज्वालामुखी बनेर विस्फोट भएका छन् ।

कैयौँ विधाका ज्ञाता ‘Ghiyath al-Din Abul’l-Fath umar ibn lbrahim Al-Nishapuri al-Khayyami’(उमर खय्याम) द्वारा सिर्जित चर्चित विधा ‘रुबाई’ लाई विश्व चर्चित अनुवादक edward Fitzerald ले अनुवाद गरेपश्चात् (रुबाईमा बहर र काफिया अनिवार्य हुनुपर्ने सैद्धान्तिक नियम छ) रुबाई शैलीमा प्रस्तुत गरिने मुक्तक विधाले थप चर्चा पाउँदै विभिन्न आरोह अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुग्दा ज्यादै लोकप्रिय विधा बन्न सफल भएको छ । जो कोहीलाई सजिलो लाग्ने यो विधा उस्तो सजिलो भने अवश्य छैन । धीर छ, स्थिर छ, गम्भीर छ र त सागर जस्तै छ । हेर्दा यसको गहिराइ पत्ता लाग्दैन तर डुबेपछि थाह लाग्छ कि गहिराइ कति छ भनेर । यस विधाको सिद्धान्तमा अनुबन्धित रहेर डुबुल्की लगाउँदै कृतिकारले ‘ज्वालामुखी’ सङ्ग्रहमा २१० ओटा मुक्तकहरूलाई प्रस्तुत गरेका छन् ।

विस्फोट भएको ज्वालामुखीका लावालाई नजिकबाट स्पर्श गर्दा कृतिकारले आफूलाई विचलित गराउनुभएको छैन । जसरी सत्ययुगमा गणेशले मेरो भगवान पनि तपाईंहरू, मेरो सुमेरु पनि तपाईंहरू भनेर आफ्ना मातापिताको प्रदक्षिणा गरेपश्चात् वरदान पाएथे त्यसरी नै कृतिकारले आफ्ना बा’आमालाई भगवान र आफूलाई गणेश बनाउनुभएको छ ।

मुक्तक –१

हरेक दिन मेरै छायाँमा देखिनुहुन्छ
हररात हरेक सपनामा देखिनुहुन्छ
दुःख पर्दा जब म भगवान सम्झिन्छु
अगाडि बा सँगै आमा देखिनुहुन्छ

उक्त मुक्तकसँगै ७५, १०८ , १२८ , १६०, १६९ , १७५ लगायत कृतिमा सुरुआत र समापन अर्थात् २१० नम्बरको मुक्तकपनि बा आमाप्रति नै समर्पित छ । साँच्चै बा आमा भन्दा अर्का भगवान छैनन् यस धरामा ।

मुक्तक–३७

यस्तै छु दुखीहरूका अघि दुखी बन्न सक्छु

हाँस्ने रमाउनेहरूका अघि सुखी बन्न सक्छु
आगो हुँ मित्रका लागि सघाउँछु झिल्का भै
दुश्मनहरूका लागि ज्वालामुखी बन्न सक्छु

आगोको काम पोल्ने नै हो जसरी पनि पोल्छ र जसरी पोलेपनि पीडा नै हुन्छ तर आगोलाई पनि कति कलात्मक तरीकाले मित्रभावको रूपमा प्रस्तुत गर्नुभएको छ । कृतिकारको यो शिल्पलाई नमन छ । जस्तो बतासको उग्र रूप आँधी हुन्छ त्यस्तै आगोको उग्र रूप ज्वालामुखी भएर दुश्मनलाई तहसनहस पार्नेछु भन्ने भावार्थ बोकेको यो मुक्तक लगायत ३७ , १६८ नम्बरमा शाब्दिक अर्थ सहित भावका शीर्ष मुक्तक रहेका छन् ।

मुक्तक –१८१

यस्तै हो आरिस चलिरहन्छ गाली चलिरहन्छ
मुटुमा सियो चल्छ छातीमा फाली चलिरहन्छ
मै स्वयंलाई बरु चासो नहोला मेरो जिन्दगीको
आफन्तहरूको भने हालीमुहाली चलिरहन्छ

उक्त मुक्तकसँगै २ ,३ , ५ , ६ , ८ , १७ , २२ , ४७ , ७३ , ११५ , १२४ , १७८ ,२०२ , २०४ का मुक्तकहरूमा कृतिकार आफन्तहरूसँग धेरै नै असन्तुष्ट र रुष्ट रहेको पाइयो तर कृतिको अन्त्यतिर १९४ मा आएर आखिरीमा आफन्त नै चाहिने कुरामा सकारात्मक पनि बनेका छन् । अर्थात् सर्जक सकारात्मक विचारका धनी हुन् भन्ने उदाहरण पनि हो ।

प्रस्तुत मुक्तकमा सर्जकले मृत्यु त शाश्वत छ । मरेरमात्र समस्याको समाधान छैन । जीवन सुन्दर छ, बाँचे संसार नै स्वर्ग समान छ भन्ने हिम्मत र सकारात्मक सोँचको विकास गर्दै प्रेमको संस्कारले संसार चलेको छ र चल्नेछ भन्ने सन्देश व्यक्त गर्दै अन्य १६, ४०, ४२, ५९, ८६, ९६, १३८ का मुक्तकहरूमा सर्जकले प्रेमिल हुँदै प्रेम दर्शाएको पाउन सकिन्छ ।

मुक्तक – २१

विश्वास जगाउनु छ र सँगै आधार बसाल्नु छ
खुसीको मात्र एउटा सुन्दर संसार बसाल्नु छ
मरेर प्रेम अमर बनाउने सोँच नबनाउनुहोला
आफू बाँचेरै प्रेम बचाउने संस्कार बसाल्नु छ

प्रेम,संस्कार, सकारात्मक सोँचका अलावा सर्जकले प्रस्तुत मुक्तक सँगै ३९, १००, ११३, १२९, १३०, १३४ , १३५ १५३, १८२ का मुक्तकमार्फत देशप्रति पनि उत्तिकै चासो र चिन्तन गर्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

मुक्तक – १३९

आफ्नोजति लिएर आउँछु पराइको उतै छोडेर आउँछु
एउटा खुसी जन्माउँछु र सारा जनतामा बाँडेर आउँछु
सिमानाको रक्षा गर्न मलाई अनुमति मात्र दे सरकार
दुश्मनको टाउको छिनाल्छु र सिमानामा गाडेर आउँछु

‘For every action,there is an equal and opposite reaction’अर्थात् बराबर चाल तर विपरीत प्रतिक्रिया । न्युटनको चाल सम्बन्धी तेस्रो नियमलाई बडो ! बिम्बात्मक बनाएर सर्जकले प्रस्तुत मुक्तक सिर्जना गरेका छन् । जसले उनको अध्ययनलाई पनि मापन गर्दछ ।

मुक्तक – ४४

न खुसी धेरै मिल्ने न त दुःख कम मिल्दोरहेछ
सोचेको भन्दा नसोचेको कुरा अधिकतम मिल्दोरहेछ

तिमी जति खुसी भयौ नि?त्यत्ति नै दुखी भएको छु यता
प्रेममा पनि न्युटनको चालको तेस्रो नियम मिल्दोरहेछ

अनुप्रास (तुकबन्दी) मुक्तकको अनिवार्य तत्त्व हो । कृतिभित्र सम्पूर्ण मुक्तक अनुप्रासयुक्त त छन् नै । ३० र ४६ का मुक्तकमा चलाखीपूर्ण अनुप्रासयुक्त मुक्तक पाइन्छ भने प्रस्तुत मुक्तकमा दोहोरो अनुप्रासको प्रयोगद्वारा अवसर छोप्नेहरूलाई व्यङ्ग्य गरिएको छ ।

मुक्तक – ४७

अरूको मतलब हुन्न आफ्नै नाम हालिहाल्छन्
दायाँबायाँ बुझ्नुछैन सिधै काम थालिहाल्छन्
नोकरी जस्तै लाग्न थाल्यो आजभोलिको नाता
जता नयाँ अवसर मिल्छ उतै हामफालिहाल्छन्

अध्ययनको दायरालाई थप फराकिलो बनाउँदै सर्जकले चाणक्य नीतिलाई पनि आत्मसात् गरेको भेटिन्छ । ‘मूर्खको विद्या कञ्जुसको धन कायरको बल कुनै काम छैन’ भनेर चाणक्य नीतिमा उल्लेख छ । यो भनाइलाई प्रस्तुत मुक्तकले उजागर गरेको छ।

मुक्तक – ५१

शिक्षित छौँ तर सचेत बन्न हिम्मत गर्दैनौँ
सही र गलत पनि निफन्न हिम्मत गर्दैनौँ
कसैले केही राम्रो गरे मख्ख परिहाल्ने हामी
कसैले गलत गरेको छ भन्न हिम्मत गर्दैनौँ
सर्जकले सामाजिक सद्भावलाई पनि उत्तिकै महत्त्व दिएका छन् ।

मुक्तक – ८४

मन साटी विचार मिसाइ जो जो, जे जे भएपनि
मिलेर बसौँ दुःख बिसाइ जो जो, जे जे भएपनि
सबको आत्मा शुद्ध होओस् त्यही ठूलो धर्म हुन्छ
बुद्ध, मुस्लिम, हिन्दू, इसाई जो जो, जे जे भएपनि

दत्तात्रयले आफ्नो जीवनकालमा २४ जना गुरु थाप्नुभएको कुरा उल्लेख छ । उहाँलाई ज–जसले सिकाउनुभयो सबैलाई गुरु थाप्दै जानुभयो । हामीले जीवनमा सिक्ने चेष्टा गर्ने हो भने रद्दीको चिर्कट्टो हाम्रा गुरु बनेर आउनसक्नेछन् भन्ने यथार्थलाई प्रस्तुत मुक्तकले प्रतिनिधित्व गर्दछ ।

मुक्तक – १३

आफ्नो भोगाइलाई सफलताको सुरु मान्नुपर्छ

समयले जे गर भन्छ त्यो खुरुखुरु मान्नुपर्छ
मन किन बिगार्नुहुन्छ ? असफल भएँ भन्दैमा
सफल भइन्छ शत्रु र गल्तीलाई गुरु मान्नुपर्छ

वास्तवमा जीवन के हो ? भनेर कसैलाई प्रश्न गरियो भने जीवनका बारे अनेकौँ उत्तर पाइएलान् तर चित्तबुझ्ने उत्तर पाउन मुस्किल हुनेछ तर प्रस्तुत मुक्तकमा सर्जकले जीवनका बारे बडो! कलात्मक ढङ्गले परिभाषित गरेका छन् ।

मुक्तक – १४

आकाश छानो हो, धर्ती हाम्रो घर हो किन बुझ्नुहुन्न
यो नाता पनि ढुङ्गामाटो झैँ भर हो किन बुझ्नुहुन्न
्कसैले केही गरेको छ र जन्म अघि वा मृत्यु पछि
जीवन; जन्म मृत्यु बीचको अवसर हो किन बुझ्नुहुन्न

कृतिभित्रका सम्पूर्ण मुक्तकलाई धानको बियाँ झैँ केलाउँदा सर्जक विम्ब खेलाउन माहिर देखिएका छन् परञ्च प्रस्तुत मुक्तकमा मन खुम्चियो ।

मुक्तक – ३६

महत्व सधैँ फूलको जस्तो होस्,फलको जस्तो होस्
आवश्यकता वायुको जस्तो होस् जलको जस्तो होस्
एक बिना अर्काको अस्तित्व रहँदै नरहोस् न
जोडी त जुत्ताको जस्तो होस् चप्पलको जस्तो होस्

उक्त मुक्तकको उठाको विम्ब (फूल र फल) दोस्रोको विम्ब (वायु र जल) तेस्रो एक अर्का बिना अस्तित्व छैन प्रहार अर्थात् चौथोमा (जुत्ता र चप्पल) को विम्ब पहिलो र दोस्रोको विम्बको अनुपातमा फितलो लाग्यो । यस अर्थमा कि जुत्ता र चप्पलको काम भनेको यात्रामा यात्रीलाई साथ दिनु हो । यदि एक हरायो या बिजोडी भयो भनेपनि यात्रा तय हुन्छ तर फूल र फल अनि वायु र जलमा चाहिँ एक बिना अर्काको अस्तित्व नै छैन यी अकाट्य विम्ब हुन् तर जुत्ता चप्पलको विकल्प रहनेभयो ।

प्रस्तुत दुई मुक्तकः–

मुक्तक – ८५

नसके उठाउन एकै पलमा ढला हे जिन्दगी
यसरी किन देखाउँछस् नौटङ्की कला हे जिन्दगी
सधैँ कति उभ्याउँछस् अन्योलको कठघरामा ?
गरिदे जीवन या मृत्युको फैसला हे जिन्दगी

मुक्तक – १२७
गर्नुपर्ने हो या गर्नै पर्दैन विश्वास कसैले गरेको छैन
मैले देखेको छैन, मेरो आसपास कसैले गरेको छैन
अनिश्चित जीवन जिउने अभ्यास नगर्ने कोही छैनन्
मृत्यु निश्चित छ तर मर्ने अभ्यास कसैले गरेको छैन

यी माथिका दुई मुक्तक मध्ये मुक्तक (८५) को उठानमा

(नसके उठाउन एकै पलमा ढला हे जिन्दगी) लाई एकैपलमा उठाउन नसके ढला हे जिन्दगी गर्दा वर्णविन्यास सही हुनेथियो । हुन त सर्जकले मिठासका लागि प्रयोग गरेको पनि हुनसक्छ । मुक्तक १२७ को समानुप्रास (कसैले गरेको छैन) लाई समग्र मुक्तकको भावले वहुवचन मागेको आभाष हुन्छ यसैले उक्त समानुप्रासलाई (कसैले गरेका छैनन् ) गर्दा थप मीठो आउने देखियो ।

केही कुराहरू गर्दा गर्दै हेर्दा हेर्दै आँखै अगाडिबाट छुट्ने गर्दछन् । यहाँपनि केही यस्तै भएको छ । मुक्तक ७ र ४१, १० र ३२,६४, र ११७,१२१ र २०३ एकआपसमा दोहोरिन पुगेका छन् । भविष्यमा आउने कृतिहरूमा यस्ता गल्तीले स्थान पाउने छैनन् भन्ने विश्वास छ ।

अँ साच्ची सर्जकले केही मुक्तकमा आक्रोशलाई कुकुरको विम्बमार्फत अलिक धेरै नै पोखेको पाइयो । मुक्तक १२१, १२३, १५४, २०३, २०५ मा कुकुरका विम्बलाई अधिक प्रयोग गरिएको छ । बेग्लाबेग्लै भावमार्फत वञ्चकहरूलाई व्यङ्ग्य हो तर एउटै सङ्ग्रहभित्र एकै विम्ब राख्दा अलिक कस्तो कस्तो लागेकोमात्र हो । भविष्यमा सर्जकले यसलाई विचार गर्नुहुनेछ भन्ने विश्वास सहित कामना ।

कृतिभित्र भाषागत समस्या देखिएन । सम्पूर्ण मुक्तकहरू मुक्तकको मूल्य,मान्यता र सिद्धान्तको मर्यादाभित्र रहेर प्रस्तुत गरेको पाइयो ।

नगण्यमात्राका (टङ्कण, मुद्राराक्षस) त्रुटि बाहेक अन्य पाइएन । तपाईंको यो भद्र लेखनी निरन्तर रहोस् ।

मुक्तक – २०९

 

संसार होस् तपाईंको अधीन शुभ रहोस्
भइरहोस् मन खुसीमा तल्लीन शुभ रहोस्
हिजो के भयो भोलि के हुन्छ सोच्दै गरौँला
तपाईं सबैको आजको दिन शुभ रहोस्
उक्त मुक्तकले भने झैँ कृति सफलताको शुभकामना छ ।

वि.सं.२०८० असोज २३ मंगलवार १४:२३ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...