स्पन्दन विनोद, दधिकोट, भक्तपुर
हाल : लिस्वन, पोर्चुगल
जो वीर हुन्छन् सदैव लड्छन् हजारचोटि मरेर बाँच्छन्
अचम्म मान्नै परेन काँतर अगाडि ज्यू ज्यू गरेर बाँच्छन्
निकास मिल्ला र चोर बाटो हिडेर द्यौता पुकार गर्छौ
मिलेर लुट्छन् र देशद्रोही बसाइ अन्तै सरेर बाँच्छन्
खुसी भनेको समीपमा थ्यो तयार थेँ ऊ सँगै म मर्न
कहाँ गए प्रेमका नसेबाज फूल मात्रै छरेर बाँच्छन्
पोतेर सिन्दुर घुमेर जग्गे गरेको माया भन्यौ तिमीले
थिए जो निस्वार्थ प्रेममा आँसुका जलाशय भरेर बाँच्छन्
डुबेको देख्दा बिरानो डुङ्गा रमाउने छन् अनन्य मित्र
कतै नपच्ने रहेछ माया अलग जवानी चरेर बाँच्छन्
बहर : बाफिर मुसम्मन महजुफ
अर्कान : १२१२२ १२१२२ १२१२२ १२१२२
वि.सं.२०८० असोज २७ शनिवार ०९:११ मा प्रकाशित






























