काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका उम्मेदवादरका लागि निर्वाचन खर्चको सीमा तोकेको छ ।
आयोगले यहि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुले खर्च गर्न पाउने रकमको सीमा तोकेको हो ।
आयोगका अनुसार उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ ले रु.३ लाख ५० हजार सम्म मात्र खर्च गर्न सक्ने गरी हद तोकेको हो ।
उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ ।
‘उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देश गर्दछ ।’ आयोगद्धारा जारी सूचनामा उल्लेखछ ।
त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन दिएको छ ।
वि.सं.२०८० पुस २९ आइतवार १३:४३ मा प्रकाशित






























