काठमाडौं । कृषि विकास बैंकको गतवर्षको तुलनामा यो वर्ष नाफा बढेको छ । गतवर्षको अर्ध वार्षिक समिक्षामा बैंकको आम्दानी ऋणात्मक थियो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार एक अर्ब ३५ करोड ५२ लाख७५ हजार रुपैंयाँ नाफा आर्जन गरेको छ । गतवर्ष सोहि अवधिमा बैंकले एक अर्ब ३४ करोड २३ लाख ८१ हजार मात्र नाफा कमाएको थियो ।
यो अवधिमा बैंकले ब्याज आम्दानी मार्फत मात्र चार अर्ब ४८ करोड ७३ लाख ८० हजार रुपैंया आम्दानी गरेको छ । गतवर्ष सोहि अवधिमा यस्तो आम्दानी तीन अर्ब ७२ करोड ९२ लाख ४७ हजार रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा वाणिज्य बैंकहरु मध्ये नै उच्च देखिएता पनि व्याजमा भएको आम्दानी र सन्चलन नाफा बढ्दा त्यसको प्रभाव बैंकको आम्दानीमा देखिएको हो ।
बैंकको सञ्चालन मुनाफा एक अर्ब ८४ करोड ९६ लाख ७८ हजार रुपैंयाँ रहेको छ भने वितरण योग्य नाफा ७५ करोड २१ लाख ९४ हजार रुपैंयाँ रहेको छ । गतवर्षको सोहि अवधिमा बैंकको यस्तो नाफा ११ करोड १५ लाख ४१ हजार रुपैंया घाटामा थियो ।
५१ प्रतिशत नेपाल सरकारकोसमेत लगानी रहेको यो सार्वजनिक संस्थानको कुलचुक्तापूँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकले दुई खर्ब २९ अर्ब ३६ करोड ८८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ८७ अर्ब ३६ करोड १४ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै बैंकको खराब कर्जा ४.५२ प्रतिशतको उच्चबिन्दुबाट घटेर ३।०२ प्रतिशतमा झरेको देखिएको छ ।
प्रतिशेयर आम्दानी १७.७३ रुपैंया रहेको बैंकको प्रतिशेयर नेटवर्थ भने २१८.७९ रुपैयाँ रहेको छ ।
वि.सं.२०८० माघ ७ आइतवार १४:११ मा प्रकाशित






























