काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले संस्थाको गोपनीयता भंग गरेको आरोप लगाउँदै कारबाहीको निर्णय गरेको छ ।
संघले एक विज्ञप्ती जारी गर्दै अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शनिबार भर्चुअल माध्यमबाट भएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को तेस्रो अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले सहायक निर्देशक शर्माले आन्तरिक कुरा सार्वजनिक गरी संघको साख गिराएको आरोप लगाउँदै उनलाई ‘व्यवस्थापन गर्ने’ निर्णय गरेको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘संघका आम सदस्यहरू तथा संस्थाका सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिवलगायत सबै पदाधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधैँ खुला रहे पनि संघको ईमेल डेटाबेस दुरुपयोग गरी कर्मचारी प्रशासन नियमावलीविपरीत आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको र संघको संवेदनशील विषयहरूमा आमसदस्यहरू, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उहाँको कार्यभारलाई कर्मचारी नियामावलीअनुसार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।’
विश्वभर हुने विभिन्न सानाठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा ककटेल डिनरको आयोजना गर्ने प्रचलनअनुरूप संघले पनि स्थापनाकालदेखि विश्व सम्मेलनमा डिनर आयोजना गर्ने गरेको र त्यसमा संस्थाको पैसा नभई कार्यक्रम प्रायोजकको खर्च हुने गरेको उल्लेख गर्दै संघले शर्माले ईमेलमार्फत लगाएको आरोप झुटो भएको दाबी गरेको छ ।
संघले भनेको छ, ‘त्यसैगरी शर्माले ईमेलमार्फत भूकम्पपीडितको लागि राहत वितरण गर्न जाजरकोट र रुकुमपश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रामक सन्देश दिएर संस्थाको साख गिराउने काम गर्नुभएको देखिन्छ। राहत वितरणको क्रममा पदाधिकारीहरूले आफ्नो व्यक्गित खर्च स्वयं आफैँले बेहोर्नुभएको जानकारी गराइन्छ ।’
संघका प्रवक्ता फणीन्द्र पन्तका अनुसार ‘सहायक निर्देशक शर्माले संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सम्बोधन गरी ईमेलमार्फत संस्थागत तथा व्यक्तिगत लाञ्छना लगाउने गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयबाट संघको ध्यानाकर्षण भई बैठकमा गम्भीर रूपमा छलफल’ गरिएको थियो ।
आईसीसी बैठकले शर्माले वर्तमान संस्थागत तरलताको फाइदा उठाउने मनसायले सचिवालयको ईमेल प्रयोग गरी पदीय जिम्मेवारी र मर्यादाभन्दा बाहिर गई संस्थाको गोपनीयतामा समेत ख्याल नगरेको निष्कर्ष निकालेको छ । निर्णयमा भनिएको छ, ‘साथै, निज शर्माले सार्वजनिक गर्नुभएका विषयहरू संस्थाको मर्यादाविपरीत सुनियोजित र कपोलकल्पित भएको बैठकको ठहर छ ।’
संघको केन्द्रीय कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई उच्च मनोबलका साथ संघको कर्मचारी नियमावली, आर्थिक नियमावली र प्रचलित कानुनको अधीनमा रही कार्य सम्पादन गर्नसमेत संघले अनुरोध गरेको छ ।
वि.सं.२०८० माघ २१ आइतवार ११:४१ मा प्रकाशित






























