हेटौँडा । मकवानपुर प्रहरीद्वारा ५८ कार्टुन चाइनिज भेप सहित पाँच जना पक्राउ परेका छन् । मकवानपुरका एसपी सिताराम रिजालका अनुसार काठमाडौँबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा दुई करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेप को फ्लेवर फेला परेको थियो । बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौँडा–११ थाना भर्याङबाट बरामद गरेको हो ।
बस चालक दोलखा भीमेश्वर नगरपालिका-२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका-११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर-१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।
रिजालले बस भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको एसपी रिजालले बताए । प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।
उक्त भेप काठमाडौँको गोङ्गबु बसपार्कभन्दा माथि रमाइलो डाँडाबाट लोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले जनाए ।
वि.सं.२०८१ असार ७ शुक्रवार १२:५८ मा प्रकाशित






























